मृत अवस्थामा ८ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । मोरङ, बुढिगंगा गाउँपालिका-३ पोठियामा डेरा गरी बस्ने भारत देवरीया उत्तर प्रदेश घर भएका मथुरा प्रसाद रामको छोरा ६ वर्षीय अंकित राम कोठाबाट करिब १ सय मिटर टाढा रहेको पानीको खाल्डोमा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

उनी आइतबार दिउँसोदेखि हराई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त खाल्डोको पानीमा उनको शव फेला पारेको हो । यता रुकुम (पश्चिम), सानीभेरी गाउँपालिका-४ खालाचौरस्थित सानीभेरी नदीको बिचमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुषको शव सडिगलेको अवस्थामा आइतबार फेला परेको छ ।



त्यस्तै ताप्लेजुङ, पाथिभरा याङबरक गाउँपालिका-३ तिरिङ्गे ओदिले बस्ने ५० वर्षीय महेश लिम्बु सोही ठाउँस्थित ओदिले फाँवा खोलाको भिरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । घरबाट घाँस काट्न हिडेकोमा उनी फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त भीरमा उनको शव फेला परेको हो ।

यस्तै कैलाली, भजनी नगरपालिका-४ झलझलिया बस्ने ३८ वर्षीय जुद्ध बहादुर साउँद सोही नगरपालिका-४ राजीपुरस्थित सडक छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यता सिरहा, बरियारपट्टी गाउँपालिका-५ जिझोल टोल बस्ने ३० वर्षीय राम कुमार यादव आफ्नै घरको अगाडि नालामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी सर्लाही, हरिवन नगरपालिका-६ बाग्मती नहरको साईफनमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस्तै बाँके, कोहलपुर नगरपालिका-१२ रोहिणी खोलास्थित झाडीमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यता नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका-९ थुम्सीस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका ३६ वर्षीय पुरुष आइतबार मृत अवस्थमा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार