नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ साउन ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । काठमाडौं, तारकेश्वर नगरपालिका-७ फुटुङ्ग नागपोखरी बस्ने २७ वर्षीय सरोज ठाकुर आफ्नै कोठाभित्र सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी काठमाडौं महानगरपलिका-३ महाराजगंज डेरा गरी बस्ने भारत घर भएका ६० वर्षीय राजकिशोर प्रसाद गुप्ता आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ ओमचोक नजिक टहरामा हाल एकिन नाम, वतन नखुलेको कण्डेल भनिने ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै बागलुङ, बागलुङ नगरपालिका-१० भकुण्डे खाल्टा बस्ने ५८ वर्षीय कर्ण बहादुर थापा सोही ठाउँस्थित खोल्सामा सोमबार मृत अवस्थामा फेला परेका छन् । गत शनिबारदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।
यस्तै ललितपुर, गोदावरी नगरपालिका-११ चापागाउँ बस्ने ३० वर्षीय राजेन्द्र देशार सोही नगरपालिका-१२ ठेचोस्थित खेतमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

