एजेण्डाविहीन नेता, आसन्न चुनाव र हाम्रो मताधिकार

देश राजनीतिमा आफूलाई ‘ब्राण्डेड’ मान्ने केही सीमित नेताहरूको गोलचक्करमा फँस्दै गइरहेको छ, निरीह जनता मनभित्र ज्वालामुखी पालेर पनि मौन बस्न बाध्य छन् । यी ‘ब्राण्डेण्ड’सँग देश र जनताको मन जित्नसक्ने कुनै सार्थक एजेण्डा छैन । समृद्धिको कुनै खाका छैन । समस्याग्रस्त नेपाली समाजलाई यति वर्षमा यहाँ पुर्याउँछु भन्ने कुनै ठोस कार्य–दिशा अथवा वैज्ञानिक दृष्टिकोण छैन् । यस अवस्थामा मतदातालाई आफूतिर ध्यानाकर्षण गराउने एकमात्र सूत्र हो– कुनै अमूक नेता वा पार्टीलाई तथानाम गाली गर्नु । जति बढी गाली, त्यति नै बढी ताली । तुच्छ शब्द, निकृष्ट वाक्यगठन र अशोभनीय भाव–भङ्गीसहित अरूलाई व्यङ्ग्य वाण प्रहार गर्नु उनीहरूको पहिचान बनिसकेको छ । एजेण्डाविहीन तथा परिवारवादमा रमाउने यस्ता ख्वामितहरू नै यस देशको अधोगतिका कारकहरू हुन्, राजपाक्षे पथका अनुयायीहरू हुन् ।

विशेषगरी पटक पटक प्रधानमन्त्री भइसकेका व्यक्तिहरू नै सारहीन र बेकामे कुरा गर्नमा खप्पिस देखिन्छन् । उनीहरूसँग न पूर्व प्रधानमन्त्रीका रूपमा सम्मान गर्नुपर्ने खालको बोली, व्यवहार, सभ्यता र तर्कहरू छन्, न भावी प्रधानमन्त्रीमा हुनुपर्ने गुण र दूरदृष्टि नै । फेरि पनि उनै असक्षम शिरोमणिहरू आसन्न निर्वाचनपछि प्रधानमन्त्री हुने महत्वकाङ्क्षा पालेर कार्यकर्ता र मतदातालाई भ्रमित बनाउन व्यस्त छन् । कसैलाई ज्योतिषिका कुरा पुर्याइदिन जनताले भोट दिनुपर्ने, कसैलाई विदेशी प्रभुले तोकिदिएको रोलक्रम पूरा गरिदिन वा कसैलाई जुँगाको इज्जत बचाइदिन । तर हरेक पटक स्वर्णिम भविष्यको कामना गर्दै मतदान गर्ने जनताको इज्जतचाहिँ कसले बचाइदिने ? प्रश्न अनुत्तरित नै रहन्छ । सबैलाई आफ्नो स्वार्थ ठूलो छ, देश र जनताका बारेमा सोच्न कसैलाई फुर्सत छैन । यस्ता नेताहरूका लागि नेपालको सत्ता राजनीति केवल ‘ट्रायल सेन्टर’ जस्तो मात्र बनेको छ ।



पटक पटक सत्ताको शीर्ष स्थानमा पुगेकाहरूको बकम्फुसे कुरा सुन्दा लाग्छ– उनीहरूको लाज छोपिदिने दायित्व पनि कार्यकर्ताहरूको नै हो । उनीहरू त सर्वाङ्ग नाङ्गो भइसके । उनीहरूको नाङ्गो रूप देखेर पनि केही नबोल्नु जनताको धैर्यताको परिचय हो वा फेरि पनि केही सुधार भइहाल्छन् कि भनेर गरिने झिनो अपेक्षाले गर्दा मात्र हो । आम जनताको धैर्यताको बाँध फुटेका दिन धेरैले राजपाक्षेको नियति भोग्नुपर्ने हुनसक्छ । त्यस मार्काका नेताहरूले पहिले नै लुक्ने ठाउँको भिजा लगाइरहे हुन्छ । कुनै पनि बेला नेपालमा श्रीलङ्काको पुनरावृत्ति हुन सक्छ ।

अचम्म मान्नुपर्ने के छ भने पटक पटक अवसर पाएर पनि असफलतामा ह्याट्रिक गरिसकेकाहरू नै अबको निर्वाचनपछि जसरी पनि सत्ताको कार्यकारी तहमा पुग्न चाहन्छन् । उनीहरूलाई लाग्छ– नेपालमा उनीहरूभन्दा योग्य र अनुभवी व्यक्ति अरू कोही जन्मेकै छैनन् । जन्मिहालेका भए पनि उनीहरूको लगानी छैन । अतः नेपालको सत्ता उनीहरूको बपौती जस्तै हो । उनीहरूले जे गरे पनि उनीहरूलाई कुनै प्रकारको प्रश्न सोध्ने कसैको अधिकार छैन । लोकतन्त्रमा योभन्दा निरङ्कुश सोच अरू के हुन सक्छ ?

हुन त मुखले लोकतन्त्रका कुरा गरे पनि नेपालका प्रत्येक शीर्ष नेताभित्र ‘किम जोङ उन’ प्रवृत्ति हुर्किएको छ । भाषणमा जसले जे बोले पनि उनीहरू आफू, आफ्नो परिवार र सीमित आसेपासेहरू बाहेक अरू कसैलाई पनि योग्य देख्तैनन् र विश्वास गर्न सक्तैनन् । यति तल्लोस्तरको सोच त हिजो ‘निरङ्कुश’ भनिएका शासकहरूमा पनि थिएन । तुलना गर्दा महसुस भयो– कमसेकम उनीहरूमा राष्ट्रवादी सोच त अहिलेका महान्हरूमा भन्दा बढी नै रहेछ । विकासका पूर्वाधारको निर्माण पनि उनीहरूले नै गरिदिएका थिए । अहिलेका ‘महान्’ले त त्यही पनि बेचेर खाए ।

२०४६ सालपछि पटक पटक सत्ताको बागडोर सँभाले पनि देश र जनताका पक्षमा, देशको समृद्धि र विकासको पक्षमा तथा व्यवस्था र सुशासनका पक्षमा सिन्को भाँच्न नसक्नेहरू आज नयाँ भ्रम छरेर मतदाताको सहानुभूति आर्जन गर्न कम्मर कसेर लागेका छन् । र, आफ्नो अभीष्ट पूरा गर्न उनीहरू सबैले आ–आफ्नो पक्षपोषणको लागि सिण्डिकेट खडा गरेका छन् । त्यस सिण्डिकेटको काम भनेको आफ्नो स्वामीलाई देवत्वकरण गर्नु, पार्टीभित्रकै प्रतिभाशाली व्यक्तिलाई आफ्ना स्वामीका छेउमा पुग्नबाट छेक्नु र स्वामी भक्तबाहेक अरूलाई टिकट पाउनबाट वञ्चित गर्नु, अर्को व्यक्ति वा पार्टीलाई तुच्छ शब्दावलीको प्रयोग गर्नु र भोलिका दिन व्यवसायिक वातावरण अनुकूल बनाइदिने आश्वासनसहित उद्योगी व्यवसायीहरूबाट चन्दा वसुल गर्नु आदि हो । त्यस्ता सिण्डिकेटमा सामान्य स्तरका व्यक्ति मात्र छैनन्, विश्वविद्यालयका प्राध्यापकहरू, वकीलहरू, पूर्व कर्मचारीहरू, पत्रकारहरूलगायत सबै समावेश छन् । चेतना मरेका र दास मनोवृत्तिका यिनै सिण्डिकेट सदस्यहरूको उक्साइबाट उनीहरूका स्वामीहरू आफ्नो हैसियत बिर्सेर अरूलाई तथानाम गाली गर्न थाल्छन् । स्वार्थ पूरा हुने देखेभने आज तथानाम गरेकासँग भोलिपल्टै घाँटी जोड्न पुग्छन् । निर्लज्जताको पनि सीमा हुनुपर्ने हो !

अतः आसन्न निर्वाचनमा यस्ता ढोंगी नेताहरूलाई घरैमा बस्न बाध्य पार्न सकियो र योग्य र सम्भावना बोकेकाहरूलाई नेतृत्वमा पुर्याउन सकियो भने यो नै जनताको जित हुनेछ । लोकतन्त्रको सौन्दर्य भनेकै जनताले आवधिक निर्वाचनको माध्यमबाट असल नेतृत्वको चयन गर्ने अवसर पाउनु हो । मतदानकै माध्यमबाट ठूला ठूला तानाशाहहरू पनि सडकछाप बन्न बाध्य भएका छन् । त्यसैले ‘एउटा मत त हो नि’ भनेर उपेक्षा गरिनु हुन्न । तपाई हाम्रो त्यही एउटा मतको सदुपयोगले देशले काँचुली फेर्न सक्छ भने त्यही एउटा मतको दुरुपयोगले कुनै तानाशाहले पाँच वर्षसम्म हामीलाई दास बनाउने छ ।

अतः निर्वाचन मतदाताका लागि आफ्नो अधिकारको सदुपयोग गर्ने ठूलो अवसर हो । आफ्नो मताधिकारको प्रयोग विवेकपूर्ण ढङ्गबाट गर्न सकेको खण्डमा ठूला ठूला तानाशाहलाई पनि सडकमा पुर्याउन सकिन्छ । कसैले आँशु झारेका भरमा, अन्तिम मौका भनेका भरमा अथवा अन्य कुनै बाहनामा यसपटक पनि चुक्यौं भने अबको पाँच वर्ष त्यस्सै खेर जानेछ । हामी श्रीलङ्काको बाटोमा पुग्नेछौं ।

फेरि यो कुनै पार्टी विशेषलाई कटाक्ष गरिएको कुरा पनि होइन, बरू हरेक पार्टीबाट सम्भावना बोकेकाहरूलाई मात्र नेतृत्वमा पुर्याऊँ भन्ने सन्देश हो । भौतिक विकास र समृद्धिले संसार कहाँबाट कहाँ पुगिसक्यो, हामी भने फोहरमाथि फोहोरी राजनीति गरेर बसेकाहरूलाई नै ‘महान्’ ठान्ने भूल गरिरहेका छौं । जसलाई हामीले शालीग्राम ठानेर आजसम्म पूजा गरिरह्यौ तर उनीहरू त केवल सामान्य बगरे ढुङ्गा मात्र रहेछन् । यस सत्यबोध पछि पनि हामी सचेत नहुने हो भने हाम्रा पालामा मात्र होइन, हाम्रा सन्तानका पालामा पनि यथास्थितिमा कुनै सुधार हुनेवाला छैन । अनि हामीसँग पछुताउनुबाहेक केही विकल्प पनि रहने छैन ।

बरू सक्छौं भने अब सार्वजनिक रूपमा कुनै उम्मेद्वारले ‘चुनाव जितेमा म यी यी काम गर्छु’ भनेर भन्छ तर चुनाव जितेपछि उसले गरेका वाचाहरूलाई प्राथमिकतामा राखेर काम गर्दैन भने त्यस्ता जनप्रतिनिधिहरूका विरुद्धमा ठगीको मुद्दा चलाउन पाउने व्यवस्था गरौं । यो मतदाताहरूको भावनामाथिको खेलवाड हो, यो पनि एक प्रकारको ठगी नै हो । यस कार्यले जनप्रतिनिधिलाई थप जिम्मेवार बनाउने छ भने असम्भव सपना बाँडेर मतदाताको संवेदनामाथि खेल्ने खेलमा अङ्कुश लाग्नेछ । यसरी नै चुनावी घोषणापत्रमा उल्लेख गरिएका कुरा पूरा नगर्ने पार्टीलाई पनि घोषणापत्रलाई आधार बनाएर अदालतमा ठगी मुद्दा हालेर त्यस पार्टीको अध्यक्षलाई अदालतको कठघरामा उभ्याउन सकेमा जनताको कोमल भावनामाथि खेल्ने खेलको अन्त्य हुनेछ, नत्र जनतालाई सत्तामा पुग्ने भर्याङ बनाएर सीमित मान्छेहरूले मात्र यो देश लुट्ने सिलसिलाको अन्त्य कहिल्यै हुने छैन ।

सम्बन्धित समाचार