फिजी : भाग्यले भारतमा विलय हुनबाट जोगिएको देश

आजभोलि नेपाली जनता मुलुकमा विकसित पछिल्ला घटनाक्रमलाई नियाल्दै नेपालले पनि सिक्किम वा फिजीको नियति भोग्नु पर्ने हो कि भनेर सामाजिक सञ्जालबाट आफ्ना नेताहरूलाई खबरदारी गरिरहेका छन् । नागरिकता विधेयकको विवादपछि त यस विषयले उत्कर्षता नै प्राप्त गरिरहेको छ । अनि नेपाली जनताहरू सरकारले अघि बढाएको नागरिकता विधेयकको पक्ष र विपक्षमा विभाजित हुन पुगेका छन् । धेरैले यस विधेयकलाई भारतीयहरूको कुटिल चालका रूपमा बुझ्ने प्रयास गरिरहेका छन् । र, उनीहरू आशंका गर्छन्– कहीँ नेपालले पनि कालान्तरमा सिक्किम वा फिजीको नियति त भोग्नु पर्दैन ?

भारतलाई यसरी आशंकाको दृष्टिले हेरिनुमा आफ्ना छिमेकीहरूसँग भारतको सौहार्दपूर्ण सम्बन्ध नहुनाले पनि बल पुगेको हुनसक्छ । कुनै बेलाको स्वतन्त्र रहेको पहाडी मुलुक सिक्किम भारतको २२औं राज्यका रूपमा विलय गरिएको घटनालाई मानिसहरूले बिर्सन सकेका छैनन् । अन्य छिमेकी मुलुकहरू चीन, नेपाल, पाकिस्तान, बङ्लादेश, भुटान, वर्मा र सामुन्द्रिक टापु श्रीलङ्का लगायतका देशसँग भारतको हार्दिकतापूर्ण सम्बन्ध छैन । बुझ्नेहरू यसो हुनमा भारतको आफ्ना छिमेकीहरूलाई हेर्ने दृष्टिकोण सफा नरहेका कारणले गर्दा हो भन्ने गर्छन् ।



अघिल्लो लेखमा लेण्डुप दोर्जे खडा गरेर भारतले कसरी सिक्किमलाई आफ्नो २२औं राज्य बनाउन सफल भयो भन्ने बारेमा आइसकेकोले यस लेखमार्फत् महेन्द्र चौधरीमार्फत् भारतले फिजीलाई कसरी सङ्कटमा पुर्यायो र फिजी कसरी भारतमा विलय हुनबाट जोगिनपुग्यो भन्ने बारेमा केही सामग्री राख्ने प्रयास गरिएको छ ।

फिजीको सङ्क्षिप्त परिचय :
फिजीको आधिकारिक नाम ‘फिजी द्वीप समूह गणराज्य’ हो । नेपालभन्दा करिब १२ हजार किलोमिटर टाढा प्रशान्त महासागरको दक्षिणतर्फ रहेको फिजी देश वास्तवमा एउटा द्वीप समूह हो । फिजीमा साना ठूला गरेर ३२२ द्वीपहरू भए पनि १०६ वटा टापुहरू अर्थात् द्वीपहरूमा मात्र व्यवस्थित बसोबास छ । टापुहरूमध्ये विटी लेवु र वनुवा लेवु दुई ठूला टापुहरू हुन् । राजधानी सुवा विटी लेवु टापुमा रहेको छ । यिनै दुई टापुमा फिजीको ८७ प्रतिशत आवादी छ । कूल मिलाएर फिजीको क्षेत्रफल १८,२७४ वर्ग किलोमिटर छ । यहाँ अङ्ग्रेजी, फिजी हिन्दी, बाउ फिजियनलगायतका भाषा बोलिन्छन् । फिजी चिनी उत्पादनका लागि प्रख्यात मानिन्छ भने पर्यटन यहाँको आम्दानीको मुख्य स्रोत हो ।
जति बेला भारत बेलायतको उपनिवेशका रूपमा थियो, त्यति बेला फिजी पनि बेलायतकै उपनिवेशअन्तर्गत थियो । सन् १८७४ देखि १९७० सम्म फिजी बेलायतको उपनिवेश रह्यो । भारत सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भयो भने फिजी त्यसको लगभग २३ वर्षपछि मात्र स्वतन्त्र हुनसक्यो ।

कसरी भयो फिजीमा भारतीयहरूको प्रवेश ?
सानो तर सुन्दर देश फिजीमा जनसङ्ख्या पनि न्युन भएको त्यहाँ कामदारको अभाव थियो । त्यसताका भारत र फिजी दुबै देश बेलायतीबाट शासित रहेकोले कामदारको अभाव पूरा गर्न सन् १८७९ मा पहिलोपल्ट भारतबाट ३१ कामदार फिजी लगियो । त्यसपछि कामको खोजी गर्दै कलकत्ता, मद्रास र मुम्बै क्षेत्रबाट धेरै भारतीयहरू फिजी प्रवेश गरे । फिजी प्रवेश गरेका लाखौं भारतीयहरू स्थायी रूपमा फिजीमा नै बसे ।

तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको नजर फिजीमाथि थियो । फिजीलाई आफ्नो नियन्त्रणमा ल्याउन उनले कूटनैतिक बाटो अपनाइन् । उनले ठूलो सङ्ख्यामा रोजगारी र व्यवसायिक अवसरको खोजी गर्दै फिजी पुगेका वा पुर्याइएका भारतीयहरूलाई अङ्गिकृत नागरिकता दिलाउने प्रयास गरिन् । तर भर्खरै बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको फिजी सरकार सजिलै भारतीय मूलका मानिसहरूलाई नागरिकता दिने पक्षमा थिएन । फिजीको यस्तो आशय बुझेको भारतले परोक्ष रूपमा त्यहाँका आदिवासी र आप्रवासी भारतीय मूलका मान्छेहरूलाई एकअर्काको विरुद्धमा उचालेर राजनीतिक र जातीय द्वन्द्वको आगो सल्काइदियो । साम्प्रदायिक आगो सल्किएपछि सजिलै निभ्दैन । फिजी पनि अशान्त बन्यो ।

द्वन्द्व राजनीति र संविधानमा चलखेल
फिजीमा सन् १९७७ देखि १९९० सम्म राजनैतिक अस्थिरता बढ्यो । द्वन्द्वबाट आजित भएका फिजीका जनता देशमा शान्तिको कामना गर्न थाले र जुनसुकै मूल्य चुकाएर भएपनि शान्ति कायम गर्न प्रतिबद्ध भए । अवसरको फाइदा उठाउँदै शान्ति स्थापना गराउने बहानामा भारतीयहरू फिजीको आन्तरिक मामलामा प्रवेश गरे र राजनैतिक सम्झौता गराउने बहानामा विभिन्न खालको सहमति गराए । त्यसपछि बनेको संविधानमा अङ्गिकृत नागरिकता वितरणलाई खुला गरिदिए र भारतबाट फिजी गएका वा फिजीमा जन्मिएका सबैले अङ्गिकृत नागरिकता पाउने व्यवस्था गरे ।

संविधानमा नै अङ्गिकृत नागरिकता वितरणलाई सहज बनाइएपछि सन् १९८० सम्म ५८८ जना मात्र भारतीयले फिजीको नागरिकता पाएकोमा सन् १९९० देखि १९९७ का बीचमा ३ लाख ३९ हजार भारतीय मूलमा मान्छेलाई नागरिकता प्रदान गरियो । जम्माजम्मी ७ लाखको हाराहारीको जनसङ्ख्या भएको मुलुकमा ४० प्रतिशतभन्दा बढी भारतीय मूलका मान्छेले राजनीतिक र व्यवसायिक अधिकारसहित नागरिकता पाएपछि भारतले फिजीमा आफ्नो अभीष्ट पूरा हुने सपना देख्न थाल्यो ।

दोस्रो लेण्डुपका रूपमा महेन्द्र चौधरी
सिक्किम भारतमा विलय गराउनुभन्दा अगाडि राष्ट्रघाती पात्र लेण्डुप दोर्जे खडा गरेझैं भारतले फिजीमा पनि भारतीय मूलका महेन्द्र चौधरीलाई त्यही रूपमा भित्रभित्रै अडा गरेर संरक्षण प्रदान गर्दै थियो । चौधरी नेताको रूपमा उदाउँदै थिए । तर फिजीयनहरूले चौधरीमाथि आशंका नगरुन भनेर उनलाई राष्ट्रवादीपूर्ण भाषण गर्न लगाइन्थ्यो (सिक्किममा लेण्डुप पनि त्यसै गर्न लगाइएको थियो) । उनी भारतविरोधी र फिजीको समृद्धिका पक्षमा दमदार भाषण दिन थाले । चौधरी आफू फिजीको भूमिपुत्र भएकोले फिजीको उन्नयनमा आफू समर्पित हुने भाषण गर्थे । सिधा फिजीयनहरूले उनको भाषणलाई विश्वास गरे ।

फलस्वरूप सन् १९९९ मा सम्पन्न निर्वाचनमा ७१ सिटमध्ये महेन्द्र चौधरीको पार्टीले ३७ सिट हासिल गर्न सफल भयो र अन्ततः महेन्द्र चौधरी फिजीका प्रधानमन्त्री बने । उनी प्रधानमन्त्री भएपछि भारतको इशारा र अनुकूलमा काम गर्न थाले । चौधरीको अभीष्ट बुझेपछि मात्र फिजीयनहरूले आफूहरूलाई धोका भएको महसुस गरे र नराम्रोसँग झस्किए ।

फिजीमा विद्रोहको बीजारोपण र चौधरीको बरखास्ती
चौधरीले फिजीको सुरक्षालगायत सरकारका हरेक क्षेत्रमा ४० प्रतिशत भारतीय अङ्गिकृतलाई समावेश गर्ने निर्णय गरे । यस घटनाबाट आदिवासीहरू बिच्किए । उनीहरूलाई लाग्यो– चौधरीलाई नरोक्ने हो भने देशको लोकतान्त्रिक शासन प्रणाली मात्र होइन, मुलुक नै भारतको अधीनस्थ हुनेछ । बेलायतको उपनिवेशबाट पाएको स्वतन्त्रता समाप्त हुनेछ । बेलायतको उपनिवेशबाट बल्लबल्ल स्वतन्त्र भएका उनीहरू पुनः भारतबाट शासित हुन चाहँदैनथे । त्यसैले उनीहरू चौधरीको कार्यशैलीका विरूद्धमा गोलबद्ध भए ।

अन्ततः फिजीमा आन्तरिक विद्रोह आरम्भ भयो । विद्रोही आदिवासीले सेनालाई साथ दिए । आदिवासीहरूको साथ र समर्थन पाएपछि जर्ज स्पीटको नेतृत्वमा सेनाको एक टुकडीले आकस्मिक रूपमा संसद भवनभित्र प्रवेश गरे र प्रधानमन्त्री महेन्द्र चौधरी, मन्त्रीहरू र अन्य गरी लगभग ५० जनालाई तत्काल बन्दी बनाए । उनीहरूले प्रधानमन्त्री चौधरीलाई अपधस्थ भएको र सरकार निलम्बन भएको घोषण गरे । यसरी प्रधानमन्त्री भएको १ वर्ष ८ दिनमा नै चौधरी अपधस्थ हुन पुगे । सत्ता जोगाउन उनले गरेको कसरत काम लागेन । तर बुझ्नेहरू भन्छन्– यदि महेन्द्र चौधरीले सेना प्रमुखमा पनि अङ्गिकृत भारतीयलाई पदस्थापन गर्न भ्याएका भए स्थिति त्योभन्दा फरक हुन सक्थ्यो ।

अर्कोतर्फ भारतबाट तत्काल सेना पठाएर त्यहाँको सेनालाई पराजित गरी फिजीलाई आफ्नो कब्जामा लिन भारतलाई सहज थिएन । किनकि फिजी सिक्किमजस्तो भारतसँग सीमा जोडिएको देश थिएन । फिजी त भारतभन्दा ११ हजार ६ सय ९ किलोमिटर टाढा थियो । भारतभन्दा लामो दूरीमा हुनु र स्थानीय आदिवासीहरू मुलुकको स्वतन्त्रता रक्षाका लागि एक हुनुले फिजी एउटा भयानक दुर्घटना हुनबाट जोगिन पुग्यो । फिजी आज पनि एउटा स्वतन्त्र राष्ट्रका रूपमा विश्वमा आफ्नै खालको विशिष्ट अस्तित्व राख्न सफल छ ।

नेपाली जनतामा त्रासको कारण
जे होस्, यसरी महेन्द्र चौधरीको माध्यमबाट सिक्किमजस्तै फिजीलाई पनि भारतमा विलय गराउने भारतीय शासकहरूको सपना सधैंका लागि समाप्त भएर गएको छ । फिजीको समस्या समाधान भए पनि नेपाली नेताहरूलाई नै प्रयोग गरेर भारतले नेपाललाई पनि सिक्किम वा फिजीजस्तै बनाउने त होइन ? भन्ने त्रासचाहिँ नेपाली जनताबीच जीवितै छ । नेपाली नेताहरूको द्वैध चरित्र र छिमेकीहरूप्रति भारतको वक्र दृष्टिले यस्तो आशङ्कालाई मलजल गरिरहेको छ । तर नेपाली जनता भने भारतलाई एउटा असल छिमेकीका रूपमा देख्न चाहन्छन् ।

(विकिपिडियालगायत युट्युबमा उपलब्ध सामग्रीहरूको सहयोगमा तयार गरिएको)

सम्बन्धित समाचार