एमालेलाई गठबन्धनको भय, जोगाउन सक्ला त आफ्नो विरासत ?

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरु चुनावी अभियानमा होमिएका छन् । आफ्नो पल्ला भारी पार्न विभिन्न दलहरु अर्को कुन दलसँग समन्वय गरेर जाने भन्ने विषयमा गम्भीर छलफल गरिरहेका छन् । यसै क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई भने कसरी निर्वाचनमा जाने र कसरी आफ्नो विरासत जोगाउने भन्ने विषयको चिन्ताले सताएको छ । अघिल्लो संघीय निर्वाचनमा अहिले गठबन्धनमा सामेल भएको नेकपा माओवादी केन्द्रको साथ पाएर बहमुत ल्याएको एमालेलाई अहिले भने आफ्नो विरासत नै जोगउन मुस्किल पर्ने हो कि भन्ने अनुमान लगाउन सकिन्छ ।

अघिल्लो चुनावमा नेपाली कांग्रेसलाई एक्लाएर एमालेलाई साथ दिएको माओवादी केन्द्रले यसपटक भने एमालेलाई एक्लाएर नेपाली कांग्रेसलाई साथ दिएको छ । स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनको साथ पाएर बहुमत ल्याएको नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि बहमुत ल्याउन सक्ने अनुमान गर्न सकिन्छ । यद्यपि स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनको सामना गरेको एमालेले आगामी निर्वाचनमा पनि गठबन्धनलाई चुनौती दिन सक्नेछ ।



एमालेलाई गठबन्धनको भय
आगामी संघीय निर्वाचनमा नेकपा एमालेलाई पाँच दलीय गठबन्धनको भय रहेको छ । अघिल्लो निर्वाचनमा पहिलो पार्टी बनेको एमालेलाई यसपाली भने कसरी निर्वाचनमा जाने भन्ने विषयमा चिन्ताले सताएको छ । अघिल्लो निर्वाचनमा विजयी भएको स्थानमा पनि एमालेलाई गठबन्धनको सामना गर्नु पर्नेछ र गठबन्धनको अगाडी विजयी हात पार्न एमालेलाई भने त्यति सहज हुने छैन ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्ने गठबन्धनको निर्णय
स्थानीय तह निर्वाचनमा तालमेल गरेर निर्वाचनमा होमिएको पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि तालमेल गर्ने निर्णय गरिसकेको छ । स्थानीय तह निर्वाचनमा चुनावी तालमेलपछि आएको परिणामबाट सत्ता गठबन्धन आबद्ध दलहरू हौसिएका थिए । सत्ता गठबन्धनमा आवद्ध शीर्ष नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय गरिसकेको छ । गठबन्धनको यस्तो निर्णयसँगै आगामी निर्वाचनमा पनि गठबन्धनको पल्ला भारी देखिएको छ ।

एमालेले गर्ला तालमेल
आगामी निर्वाचनमा गठबन्धनसँग सामना गर्न एमालेलाई पनि अन्य राजनीतिक दलहरुसँग तालमेल गर्नुपर्ने आवश्यकता देखिन्छ । महन्थ ठाकुर पक्षको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग एमालेले तालमेल गर्ने तयारीमा रहेको छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी गर्ने तयारीमा रहेका छन् । त्यसैले गर्दा एमालेले लोसपाको पनि साथ नपाउने देखिन्छ । यता स्थानीय तह निर्वाचनमा एमालेसँग तालमेल गरेको कमल थापा नेतृत्वको राप्रपा नेपालले पनि आगामी निर्वाचनमा एमालेसँग तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा केही बोलेको छैन । यता एमाले अध्यक्ष केपी शर्मा ओली भने विभिन्न कार्यक्रममा आगामी निर्वाचनमा पनि गठबन्धनको सामना गर्न एमाले तयार रहेको भन्दै आफ्नो पार्टीले नै बहुमत ल्याउने बताउँदै आएका छन् ।

यस्तो छ गठबन्धनले निर्वाचनमा सिट बाँडफाँट गर्न बनाएको कार्यदल
प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले कार्यदल नै बनाएको छ । कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला रहेका छन् भने सिट बाँडफाँटका लागि बनेको ११ सदस्यीय कार्यदलमा नेपाली काँग्रेसबाट कृष्णप्रसाद सिटौला, गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ रहेका छन् । त्यस्तै एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल रहँदा जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ रहेका छन् । यस्तै राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।

एमालेले जितेको स्थानमा गठबन्धनको यस्तो छ तयारी
अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग तालमेल गरेर एमालेले जित हात पारेको स्थानमा पाँच दलीय गठबन्धनले आ(आफ्ना बलियो उम्मेदवारहरुलाई उठाउने घोषणा गरिरहेका छन् । तर यस विषयमा ठोस निर्णय भने आइसकेको छैन । निर्वाचनमा सिट बाँडफाँट गर्न बनेको कार्यदलले सिट बाँडफाँटको विषयमा अहिले सम्म पनि सहमति नभएकोले एमालेले जित हात पारेको स्थानमा कसरी जाने भन्ने विषयमा सत्ता गठबन्धनले लगातार छलफल गरिरहेका छन् ।

सम्बन्धित समाचार