नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ भदौ ।
काठमाडौं महानगरपालिकाले सुन्धारामा रहेको काठमाडौं मल र खिचापोखरी स्थित आरबी कम्प्लेक्समा डोजर चलाएको छ । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउन डोजर चलाएको हो ।
बुधबार बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो । कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौँ मलमा भाडामा लिएकाहरुले अनधकिृत रुपमा नक्सा पासभन्दा बाहिर गएर बनाएका संरचना भत्काएको हो ।
काठमाडौं महानगरसहित उक्त कार्यमा नेपाल प्रहरी र महानगरपालिकाको प्रहरी टोली पनि खटिएका थिए ।
त्यस्तै काठमाडौं महानगरले खिचापोखरीको आरबी कम्प्लेक्समा पनि अनधिकृत रुपमा बनेको संरचना पनि हटाएको छ । यस्तै न्यूरोडको रञ्जना गल्लीभित्र बनेको भवनहरु पनि भत्काएको छ । काठमाडौँ महानगरपालिकाले नक्सा विपरीत बनाइएका संरचना भत्काउने काम भइरहेको छ ।