नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ भदौ ।
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो । निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै गए रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । निगमले डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर समान ६-६ रुपैयाँले वृद्धि गरेको हो ।
निगमले मूल्य बढाएसँगै अब डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १७२ थियो । निगमले पेट्रोल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर रु १८१, हवाई इन्धन (आन्तरिक) को रु १९०, हवाई इन्धन (बाह्य)को एक दशमलव ६४ अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० कायमै छ ।
आइओसीबाट बिहीबार निगमलाई प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रति लिटर एक रुपैयाँ ३९ पैसा, डिजेलमा छ रुपैयाँ १२ पैसा र हवाई इन्धनमा आठ रुपैयाँ एक पैसाले बढेर आएको छ । यता पेट्रोलियम पदार्थ खरिद बापतको रकम समयमा नै भुक्तानी गर्न नसक्दा बक्यौता रकम बढ्दै छ । लामो समयदेखि पेट्रोलियम पदार्थमा भइरहेको नोक्सानीका कारण दैनिक बिक्रीबाट सङ्कलन हुने रकम आइओसीलाई भुक्तानी गर्दा पनि बुधबारसम्म करिब रु २१ अर्ब तिर्न बाँकी रहेको निगमले जनाएको छ । सञ्चित बचत सकिएपछि पेट्रोलियम पदार्थ खरिद गर्ने पैसा नहुँदा सरकारले गत असार अन्तिममा निगमलाई रु सात अर्ब ऋण उपलब्ध गराएको थियो ।
यस्तो छ मूल्यसूची :