नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ भदौ ।
युगान्डाको पश्चिमी जिल्ला कासेसेमा पहिरोले पुरिएर १५ जनाको ज्यान गएको छ । पहिरोले पुरेका कासिका गाउँका १५ जनाको शव निकालिएको युगान्डा रेडक्रस सोसाइटी (यूआरसीएस)ले जनाएको छ ।
यूआरसीएसका अनुसार छ जना घाइतेको जीवितै उद्धार गरिएको छ । उनीहरूलाई कासेसे नगरपालिकास्थित सेन्ट पल अस्पतालमा ‘रिफर’ गरिएको छ । मङ्गलबार राति परेको मुसलधारे वर्षाका कारण पहिरो खस्दा केही घर पुरिएका आशङ्का गरिएको छ । उक्त स्थानमा उद्धार तथा खोजी जारी छ ।
विगत केही दिनयता युगान्डाको पश्चिमी क्षेत्रमा भारी वर्षा भइरहेको छ जसले बाढी पहिरोका घटना बढाउनका साथै मानवीय एवम् बालीनालीसहित भौतिक क्षति निम्त्याएको छ । शनिबार छिमेकी बुन्डिबुग्यो जिल्लामा भीषण वर्षापछि आएको पहिरोमा परी चार जनाको मृत्यु भएको थियो ।