नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ भदौ ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१४ नयाँबस्तीस्थित सडक छेउमा रौतहट घर भई सोही ठाउँस्थित काकाको घरमा बस्दै आएकी २२ वर्षीया मनिसा महतो शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
त्यस्तै भोजपुर, साल्पासिलिछो गाउँपालिका-६ बस्ने ४१ वर्षीय दिनेस राई सोही गाउँपालिका चिमुङ्गास्थित दोभाने खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् । उक्त स्थानमा भैंसी चराउन गएका उनको उक्त खोलाको पानीमा डुबेको अवस्थामा शव फेला परेको हो ।
यस्तै मोरङ, वीराटनगर महानगरपालिका-८ स्थित सिंगिया खोलामा रामेछाप सुनापती गाउँपालिका-२ घर भई श्रेष्ठ कन्ट्रक्सन हाटखोला विराटनगरमा बाटो बनाउने काम गर्ने ३० वर्षीय अनिल घिसिङ शनिबार मृत अवस्थामा फेला परेका छन् । यता दार्चुला, नौगाड गाउँपालिका-६ धुलिगढास्थित नौगाड खोलाको बीचमा हाल नाम, थर, वतन नखुलेकी महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
त्यसैगरी कैलाली, गोदावरी नगरपालिका-८ खुटिया नदीको किनारमा सोही नगरपालिका-८ बस्ने १४ वर्षीय रोहीत गुरुङ शुक्रबार मृत अवस्थामा फेला परेका छन् । नदीमा नुहाउने क्रममा बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट स्याउलेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
यता कास्की, पोखरा महानगरपालिका-३१ बेगनास तालमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१२ जुगेडास्थित मोहना नदीको किनारमा हाल नाम, थर, वतन, नखुलेका पुरुषको शव सडिगलेको अवस्थामा शनिबार फेला परेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

