नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ भदौ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज १९ गते ११ बजेर ५१ मिनेटमा परेको छ ।
असोज १० गते सोमबार बिहान १०:२३ बजे घटस्थापनाको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।असोज ११ गते मंगलबार झण्डा फेर्ने साइत ११ः११ बजे रहेको छ । पूर्व फर्केर झण्डा फेर्नुपर्ने उनले जानकारी दिए । असोज १४ गते शुक्रबार पचली भैरव यात्रा गरिन्छ ।
असोज १६ गते आइतबार फूलपाती परेको छ । फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ । तुलजा भवानी यात्राको साइत बिहान १०: ०५ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ११:३५ बजे स्थिरासन गराइन्छ ।
असोज १७ गते सोमबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ । असोज १८ गते मंगलबार महानवमी पर्व मनाइन्छ । असोज १९ गते बुधबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान १०:३४ बजे विसर्जन गरिने साइत छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान ११:५१ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।
विजयादशमीका दिन बिहान ७: ३५ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान ८ः ४७ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । खड्गयात्रा पनि यसै दिन गरिने छ । आश्विन शुक्ल पूर्णिमाका दिन असोज २२ गते सबै बलि पूर्ति गरिन्छ । असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमा पर्व परेको छ ।

