नवकान्तिपुर संवाददाता
काठमाडौं, १ असोज ।

हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा र भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको छ । हाल देशको प्रदेश १, मधेश प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्यतया बदली हेको छ । प्रदेश १, मधेश प्रदेश, कर्णाली, सुदूरपश्चिम, बागमती प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग आज (शनिबार) देशभर सामान्यतया बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ । देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै लुम्बिनी, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले यसबाट पहाडी तथा भिरालो जमिनमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम, सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ । साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

