नवकान्तिपुर संवाददाता
काठमाडौं, १ असोज ।
दसैंमा काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुलाई आजदेखि बसकोअग्रिम टिकट बुकिङ खुल्ला भएको छ । सरकारले आजदेखि लामोदूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरेको हो । यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको गत भदौ २२ गते बसेको बैठकको निर्णयअनुसार आजदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको जानकारी दिए । नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलङ्कीलगायत स्थानबाट अग्रिम टिकट बुकिङ सुरु गरिएको उनले बताए ।
ती काउन्टरहरुमा कम्प्युटर प्रणालीका माध्यमबाट यात्रुलाई बसको टिकट प्रदान गर्ने व्यववस्था गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । अनलाइनको माध्यमबाटसमेत टिकट बुकिङको व्यवस्था गरिएको विभागले जनाएको छ। सरकारले दसैंका लागि सवारी साधनको नयाँ भाडादरसमेत निर्धारण गरिसेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारीसाधन चल्दै आएका छन् । ती सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गरिने प्रहरीले जनाएको छ ।
यातायात आवागमन सहज बनाउन खाद्यान्नलगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलरलगायतका ठूला सवारीसाधन आगामी असोज १५ देखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय भएको छ ।
यस्तो छ भाडादर :