नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ असोज ।

हाल ओडिसा र पश्चिम बंगाल आसपास रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ । हाल प्रदेशको बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य भइ केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखी मध्यम वर्षा भइरहेको र बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली भइ एक-दुई स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग आज (बुधबार) देशभर आंशिक देखि सामान्य बदली रहनेछ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले उक्त क्षेत्रहरुमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन समेत सामान्य प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

