नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ असोज ।

धादिङको गजुरीमा बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । बिहीबार बिहान धादिङको गजुरी गाउँपालिका वडा नं १ गजुरी बजारमा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएको हो ।
काठमाडौँबाट गोरखा जाँदै गरेको ग१ख ४५६५ नंको बसको ठक्करले स्थानीय छ वर्षीय विजय परियारको घटनास्थलमै मृत्यु थियो । जेब्राक्रसबाट बाटो काट्दै गर्दा बसले विद्यार्थीलाई ठक्कर दिएको थियो । विद्यार्थीको मृत्यु भएपछि अहिले गजुरी बजार तनावग्रस्त बनेको छ
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राकेश सिंहका अनुसार गजुरीकै आदर्श माविमा अध्ययनरत परियारलाई विद्यालय जाने क्रममा बसले ठक्कर दिएको हो । घटनापछि स्थानीयले ठक्कर दिने बसमा आगजनी गर्दै सडक अवरुद्ध पारेका छन् । अहिले पृथ्वीराजमार्ग हुँदै गुड्ने सवारी गजुरी आसपासमै रोकिएका छन्। सडक खुलाउन स्थानीय र पीडितका आफन्तहरूसँग छलफल भइरहेको प्रहरीले जनाएको छ।

