नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ साउन ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । महोत्तरी, गौशला नगरपालिका-४ घर भई हाल गौशला नगरपालिका-२ निगौल चोक डेरा गरी बस्ने ५७ वर्षीया सहिमुन खातुन सोही ठाउँस्थित बाटो छेउमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यस्तै काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरपालिका-५ बदमपुरस्थित घरको पिँढीमा रहेको खाटमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-४ बस्ने विष्णु न्यौपाने बुधबार मृत अवस्थामा फेला परेका छन् । यता तनहुँ, ब्यास नगरपालिका-६ शान्तीटोल बस्ने ७५ वर्षीय भिम बहादुर मल्ल सोही ठाउँस्थित खहरे खोलाको भिरबाट लडेर बुधबार मृत अवस्थामा फेला परेका छन् । बाख्रा चराउन गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।
यस्तै कैलाली, गोदावरी नगरपालिका-५ गेटा सामुदायिक बन नजिक मोहना नदीको किनारामा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी तनहुँ, बन्दिपुर गाउँपालिका-४ बिमलनगरस्थित गोर्खा तनहुँ जोड्ने पक्कीपुल मुनी मर्स्याङदी नदीमा हाल नाम, थर, वतन नखुलेका व्यक्ति बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी तनहुँ, बन्दिपुर गाउँपालिका-१ पिप्लेस्थित प्रतिक्षालयमा लमजुङ भकुण्डे घर बताउने ५० वर्षीय निर्मल अधिकारी बुधबार मृत अवस्थामा फेला परेका छन् । यस्तै झापा, शिवसताक्षी नगरपालिका-१० टेक्रास्थित माईखोलामा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यता कैलाली, धनगढी उपमहानगरपालिका-१ त्रिवेणी चोकस्थित छोरीको घरमा बस्दै आएका कन्चनपुर कृष्णपुर नगरपालिका-८ रैकवार बिचुवा घर भएका ७४ वर्षीय धन सिंह जेठारा बुधबार घर पछाडि झाडीमा मृत अवस्थामा फेला परेका छन् । मंगलबार साँझदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

