नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ असोज ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । काठमाडौं, गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती डेरा गरी बस्ने काभ्रे रोशीखोला गाउँपालिका-१० घर भएका ६५ वर्षीय राम बहादुर तामाङ आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै ललितपुर, गोदावरी नगरपालिका-१३ झरुवारासी डेरा गरी बस्ने रोल्पा त्रिवेणी घर भएका ४० वर्षीय करण पुन आफ्नै डेरा नजिकै सडक छेउको झाडीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता भक्तपुर, भक्तपुर नगरपालिका-६ डेकोचा महाकाली डेरा गरी बस्ने काभ्रे घर भएका ३५ वर्षीय रोशन थापा सोही ठाउँस्थित शौचालयमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै बारा, करैयामाई गाउँपालिका-४ बस्ने मंसुर अंसारीकी छोरी ८ वर्षीया मुस्कान खातुन सोही गाउँपालिका-२ स्थित राजदेवी माई पोखरीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी धनुषा, जनकपुर उपमहानगरपालिका-८ स्थित रत्नसागर पोखरीमा सोही ठाउँ बस्ने १९ वर्षीय कमल मुखिया शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यता रौतहट, यमुनामाई गाउँपालिका-४ चपुर गौरस्थित सरुअठा चोकमा राजपुर नगरपालिका-६ बस्ने ५० वर्षीय एनुल मन्सुरी शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै महोत्तरी, मटिहानी नगरपालिका-१ छोटका धिरापुर बस्ने ४० वर्षीया अमना खातुन सोही ठाउँस्थित बिगही खोला किनारामा रहेको बाँसको झ्याङ्ग छेउमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । घरबाट घाँस काट्न भनी हिँडेकी उनी घर नफर्किए पश्चात खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।
त्यसैगरी सर्लाही, हरिवन नगरपालिका-६ स्थित साईफन नहरमा सोही नगरपालिका-११ बस्ने ६५ वर्षीया भत्तमायाँ खड्का शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै पर्सा, कालिकामाई गाउँपालिका-४ कट्टी बालुवा बस्ने बिजय साहकी छोरी १३ वर्षीया गिरिजा कुमारी साह आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका-१८ गाजिपुरस्थित नारायणी नदीको बीच टापुमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । घटनास्थल नजिकैको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

