नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ असोज ।
२५ सेप्टेम्बर २०१८ देखि आरम्भ भएको राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालको व्यवसायिक यात्राले चार वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ । बाइकमा राइड सेयरिङमार्फत सेवा सुरू गरेको पठाओले ९ अगस्ट २०१९ मा कार लाइट अर्थात् ट्याक्सी सेवा पनि जोडेको थियो ।
अहिले राजधानीका पचास प्रतिशतभन्दा बढी ट्याक्सी चालक प्रविधिमैत्री हुँदै पठाओमा आबद्ध भएको पठाओ नेपालका प्रवन्ध निर्देशक असीममान सिंह बस्न्यात बताउँछन् । राजधानी काठमाडौंबाट व्यवसायिक सेवा आरम्भ गरेको पठाओ नेपालले सेवा आरम्भ गरेको चार वर्ष पूरा गरेसँगै चितवनमा पनि आफ्नो सेवा विस्तार गरेको छ ।
पठाओ नेपालको लोकप्रियतासगै राइड सेयरिङ सुरू गरेको २ वर्षपछि २५ सेप्टेम्बर २०२० मा पठाओले होटल, रेस्टुरेण्ट तथा क्याफेका खाना होम डेलिभरी गराउँदै ‘पठाओ फुड’ सुरू गरेको थियो । पठाओ फुडले पनि काठमाडौंमा राम्रै लोकप्रियता कमाउँदै गरेको बताइन्छ ।
राइडर र सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै पठाओले राइड सेयरिङमा नेपालमै पहिलोपटक हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा बीमा गर्ने कार्यको सुरूआतसमेत गरेको छ ।
पठाओले गत वर्षदेखि ‘पठाओ बजार’ पनि सुरू गरेको छ । सामान अर्डर गरेको ४५ मिनेटमै ग्राहकले चाहेको सामान होम डेलिभरी दिने गरी २०७८ जेठ ३० गतेदेखि पठाओ बजार सुरू गरिएको पनि पठाओ नेपालले जनाएको छ ।
पठाओका सुविधाहरू
पठाओ नेपालका अनुसार पठाओमा तपसिल अनुसारका सुविधाहरू रहेका छन् :
– हरेक यात्रामा १ लाखसम्मको उपचार र १० लाखसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध छ । यो बीमा रकम नेपालमा हालसम्मकै उच्च रकमको राइड सेयरिङ बीमा हो ।
– राइडरहरू प्रशिक्षित र प्रमाणित हुनेछन् ।
– २४सै घण्टा कल–सेन्टर र ग्राहक सहयोग सेवा रहने छ ।
– एपभित्रै आपतकालीन प्रहरी सम्पर्कको विकल्पको व्यवस्था गरिएको छ ।
– हरेक चालक यसको सिस्टममा ट्रयाक हुनेछन् भने राइडको जानकारी आफन्त वा साथीहरूलाई सामाजिक सञ्जालमार्फत् सेयर गर्ने सुविधा रहेको छ ।