गठबन्धनमा सिट बाँडफाँट : निरन्तर बैठक तर सहमति कहिले ?

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरु चुनावी अभियानमा होमिएका छन् । आफ्नो पल्ला भारी पार्न विभिन्न दलहरु अर्को कुन दलसँग समन्वय गरेर जाने भन्ने विषयमा गम्भीर छलफल गरिरहेका छन् । यसैबीच स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन गरिएको पाँच दलले आसन्न निर्वाचनमा पनि तालमेल गर्ने निर्णय गरिसकेका छन् । सत्तारूढ पाँचदलीय गठबन्धनका निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेपनि सिट बाँडफाँटको विषयमा शीर्ष नेताहरू अझै सहमतिमा पुग्न सकेका छैनन् ।

दिनहुँजसो बैठक बसिरहे पनि गठबन्धनमा आवद्ध दलहरुले आ-आफ्नो दाबी पेश गरेसँगै यस विषयमा अझै पनि सहमति जुट्न सकेको छैन । गत साउन २० गते बसेको सत्ता गठबन्धनको बैठकले आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनको लागि ११ सदस्यीय कार्यदल बनाएको थियो । तर सिट बाँडफाँटको विषयमा कार्यदलले सहमति जुटाउन नसक्दा पछिल्लो समय सत्ता गठबन्धनका शीर्ष नेताहरु र कार्यदलमा सम्मिलित नेताहरु संयुक्त बैठक बसिरहे पनि बैठकहरु प्रायस् विना निष्कर्ष टुंगिने गरेका छन् ।



प्रतिनिधिसभातर्फ सिट बाँडफाँटमा लगभग सहमति
सत्ता गठबन्धनले प्रतिनिधिसभातर्फ सिट बाँडफाँटमा लगभग सहमति भएको जनाएको छ, यद्यपि कुन दलले कति सिट पाएको भन्ने विषय भने सार्वजनिक भैसकेको छैन । प्रतिनिधिसभातर्फ सिट बाँडफाँटको विषय शीर्ष नेताहरू समेतको छलफलपछि लगभग सहमतिको नजिक पुगिसेको नेताहरु बताउँछन् । कार्यदलले प्रदेशसभाका बारेमा खाका बनाएपछि प्रतिनिधिसभा र प्रदेशसभा दुवै तर्फको सिट बाँडफाँट र निर्वाचन क्षेत्रबारे अन्तिम रूप दिइने तयारी गरेको छ । प्रतिनिधि सभातर्फ मधेशका केही जिल्ला, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, धनकुटा, धादिङ, तनहुँ, नवलपुरलगायत केही क्षेत्रमा विवाद छ। प्रदेशसभा क्षेत्रको सिट बाँडफाँट मिलाउँदा प्रतिनिधि सभा क्षेत्र पनि मिल्न सक्ने भएकोले प्रदेश सभा क्षेत्रको सिट बाँडफाँटलाई अघि बढाइएको एक नेताले जानकारी दिए ।

प्रदेशसभातर्फ कसको कति सिटमा दाबी ?
प्रतिनिधिसभातर्फ सिट बाँडफाँटमा लगभग सहमति भएको जनाएको सत्ता गठबन्धनले आइतबारबाट प्रदेशसभातर्फ सिट बाँडफाँटका लागि छलफल अघि बढाएको छ । आइतबारको बैठकमा गठबन्धनमा आवद्ध दलहरुले आ-आफ्नो दाबी पेश गरेका थिए । नेपाली काँग्रेसले प्रदेशसभाका ३३० सिटमध्ये १८० सिट र माओवादीले १०० दाबी गरेको छ । त्यस्तै एकीकृत समाजवादीले ७०, जसपाले ५० र जनमोर्चाले ७ सिटमा दाबी गरेको छ । सिट बाँडफाँटको विषयमा दलहरुको आ-आफ्नो दाबी प्रस्तुत गरेपछि सिट बाँडफाँटमा सहमति जुट्न नसकेको हो । प्रतिनिधिसभाका ३३० सिटमध्ये गठबन्धनको दाबी भने ४०७ रहेको छ ।

यस्तो छ गठबन्धनले निर्वाचनमा सिट बाँडफाँट गर्न बनाएको कार्यदल
प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले कार्यदल नै बनाएको छ । कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला रहेका छन् भने सिट बाँडफाँटका लागि बनेको ११ सदस्यीय कार्यदलमा नेपाली काँग्रेसबाट कृष्णप्रसाद सिटौला, गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ रहेका छन् । त्यस्तै एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल रहँदा जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ रहेका छन् । यस्तै राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्ने गठबन्धनको निर्णय
स्थानीय तह निर्वाचनमा तालमेल गरेर निर्वाचनमा होमिएको पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि तालमेल गर्ने निर्णय गरिसकेको छ । स्थानीय तह निर्वाचनमा चुनावी तालमेलपछि आएको परिणामबाट सत्ता गठबन्धन आबद्ध दलहरू हौसिएका थिए । सत्ता गठबन्धनमा आवद्ध शीर्ष नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय गरिसकेका छन् । गठबन्धनको यस्तो निर्णयसँगै आगामी निर्वाचनमा पनि गठबन्धनको पल्ला भारी देखिएको छ ।

सम्बन्धित समाचार