नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ असोज ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । काठमाडौं, टोखा नगरपालिका-६ ग्रिनल्याण्ड सनमार्ग टोलस्थित निर्माणाधिन घरको भुइँ तलामा शंखरापुर नगरपालिका साँखु चोक बस्ने ५५ वर्षीय बलराम भट्टराई शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै झापा, झापा गाउँपालिका-७ बस्ने ३० वर्षीय लखिराम सोरेन कचनकबल गाउँपालिका-५ स्थित ससुराली घरबाट करिब ५ सय मिटर टाढा बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता कञ्चनपुर, कृष्णपुर नगरपालिका-६ मौरीफाटा बस्ने ६० वर्षीय पदम कठायत आफ्नै घर नजिक सडक छेउमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै सर्लाही, लालबन्दी नगरपालिका-१४ बस्ने सुकमान पाख्रिनको छोरा ८ वर्षीय सोनाम पाख्रिन सोही ठाउँस्थित इनर भन्ने स्थानको खोल्सामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । बुधबार फुटबल खेल्न भनि घरबाट हिँडेका उनी घरफर्की नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।
त्यसैगरी काभ्रे, भुम्लु गाउँपालिका-१ सापिङ रिष्ठे बस्ने ७५ वर्षीय दधिराम श्रेष्ठ सोही ठाउँस्थित गोरेटो बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । बिहीबार बिहान घर नजिकै रहेको आफ्नै बारीमा काम गर्न गएका उनी साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

