नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ असोज ।

हेटौंडामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३६ घाइते भएका छन् । आइतबार राति मकवानपुरको हेटौंडा उपमहानगरपालिका- १५ चुरीयामाइ मन्दिर नजिक बस दुर्घटना भएको हो ।
काठमाडौंबाट झापाको दमक जाँदै गरेको ना७ ख २०३२ नम्बरको रात्रि बस आफैँ अनियन्त्रित भई पूर्व-पश्चिमराजमार्ग अन्तर्गत चुरीयामाई मन्दिर नजिक नालीमा खसेको छ । मृत्यु हुनेमा झापाको दमक–५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी नगरपालिका–८ बस्ने ५१ वर्षीया कल्पना राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
दुर्घटनामा घाइते ३६ मध्ये ३० जना हेटौंडा अस्पतालमा उपचारपछि घर फर्किएका छन् । त्यस्तै थप उपचारका लागि २ जनालाई काठमाडौँ र ३ जनालाई भरतपुर ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ । घाइते एक जनाको भने हेटौँडाको सञ्चो अस्पतालमा उपचार भइरहेको छ ।

