आफ्ना सन्तानको अनुहार र भविष्य सम्झेर पनि विवेकको मत प्रयोग गरौं

आगामी मंसिर ४ गते प्रत्येक मतदाताले आफ्ना सन्तानको अनुहार र भविष्य सम्झेर मतदान गर्ने अवसर पाउँदैछन् । आफूले जति दुःखपूर्ण, कष्टपूर्ण र असहज वातावरण भोग्नु परेपनि आफ्ना सन्ततिहरूले सहज र सुन्दर भविष्य पाऊन् भन्ने सबै अभिभावकको चाहना रहेको हुन्छ । त्यसैले पनि आफ्ना सन्ततिलाई कस्तो भविष्य हस्तान्तरण गर्ने भनेर विवेकको मतदान गर्ने दिन हो– मंसिर ४ गते ।

चुनाव कुनै अमुक व्यक्तिलाई सडकबाट उठाएर सदनमा पुर्याउने प्रक्रिया मात्र होइन । संसद मुलुकको भाग्य र भविष्य कोर्ने पवित्र स्थान हो । जनप्रतिनिधिका रूपमा योग्य, विवेकशील, कर्मवीर र भविष्य द्रष्टा जनप्रतिनिधिहरू सांसदका रूपमा संसदभित्र छिर्ने हो भने देशले परिवर्तनको काँचुली फेर्न धेरै समय कुर्नु पदैन । यो एउटा आशा पनि हो । यही आशामा आम जनता बाँचेका हुन्छन् ।



तर सांसद, मन्त्री र प्रधानमन्त्रीका रूपमा पटक पटक परीक्षण गरिएका व्यक्तिहरूलाई नै पुनः संसदमा पठाउने भूल गर्यौं भने अबको पाँच वर्ष मात्र होइन, त्यसको असरले अरू कयौं वर्षसम्म हामीले पछुताउनु पर्ने हुन्छ । देश झन पछि पर्नेछ । हामीले अहिले नसोचेको पीडा हाम्रा सन्ततिहरूले भोग्नु पर्नेछ । आफ्ना सन्तानको सुखद् भविष्यका लागि पनि मतदान गर्नुअधि एकपल्ट शान्त मनले सोचौं त; जसलाई हामीले वषौंदेखि चुन्दै आयौं, उसले आफू र उसको आफ्नो परिवारदेखि बाहेक देश र समाजका लागि कति योगदान गर्ने प्रयास गर्यो भनेर । अनि फेरि पनि हामी किन उसैलाई मालिक बनाएर आफू रैती बन्न खोज्दैछौं ? के त्यसको विकल्प छैन र ?

उम्मेद्वार बनेकाहरूमध्ये योग्य र सम्भावना बोकेका पात्रहरू पनि छन् । तपाईंले भोट हालिरहेको दलमा नहोलान् तर अर्को दलमा हुनसक्छन् । नत्र स्वतन्त्रमा होलान् । जनतालाई त विकास र समृद्धि चाहिएको छ, त्यो दिनसक्ने पात्र जो भए पनि जनतालाई के फरक पर्छ र ? अतः असल र सम्भावना बोकेका पात्रलाई रोज्न सकियो भने व्यक्ति मात्र परिवर्तन हुने होइन, अवस्थामा पनि परिवर्तन आउने सम्भावना रहन्छ । सही र योग्य उम्मेद्वारलाई छान्न सकियोे भने समाज रूपान्तर गर्न समय लाग्दैन भन्ने कुरालाई साङ्केतिक रूपमा भएपनि बालेन शाह र हर्क साङपाङले देखाइसकेका छन् ।

जनताको उत्थानका नारा लगाएर जनतालाई नै पटक पटक बेवकुफ बनाउने कार्य दलहरूबाट भयो । त्यसैले व्यवस्था परिवर्तन भएर पनि अवस्थामा परिवर्तन भएन । भाषणमा मात्र समृद्धि आयो बरू भ्रष्टाचार र बेथितिले प्रश्रय पायो । कमजोर नेतृत्वका कारण दलहरूले विवेक गुमाउँदा आम जनतामा लोकतन्त्रप्रति नै वितृष्णा जाग्ने अवस्था सिर्जना भयो । त्यसैले पनि दलहरूलाई मात्र होइन, लोकतन्त्रलाई नै लयमा फर्काउन मतदाताहरूले विवेकसम्मत निर्णय गर्नुपर्ने बेला आएको छ ।

तपाईंको निर्मम निर्णयले सत्ता र स्वार्थमा जरा गाडेकाहरू उखेलिए भने पनि डराउनुपर्ने केही छैन । जनप्रतिनिधिका रूपमा कमजोरभन्दा कमजोर नयाँ पात्र आयो भने पनि पुरानाले भन्दा राम्रो काम गरेर देखाउन सक्नेछ । बालेन शाहले केही गर्न सक्तैन भनेर कतिले कुरा काटे तर उनले छोटो समयमा नै कसैले गर्न नसकेको वा गर्न आँट नगरेको काम गरेर देखाइदिए । यो एउटा उदाहरण मात्र हो । त्यसैले पनि अबको निर्वाचन गुहु र गोबरलाई छुट्याउने अवसर पनि हो ।

आसन्न निर्वाचनका लागि दलहरूले बाँडेको टिकटलाई हेरेर पनि दलहरू कति स्वार्थी र निरङ्कुश बनिरहेछन् भनेर अनुमान गर्न सकिन्छ । जनतामाझ लोकप्रिय छवि बनाएका दलका निष्ठावान कार्यकर्तालाई भन्दा दलाल, भ्रष्ट, सङ्गिन आरोपमा आरोपित वा पैसा चढाउन सक्नेहरूलाई नेतृत्वले मौका दियो । नेतृत्वका कमीकमजोरी औंल्याउन हिम्मत गर्ने आफ्नै सहयोद्धाहरूलाई दलका नेतृत्वले कहिल्यै उठ्न नसक्ने गरी खाल्टोमा हालिदिए । अपराधी मनोवृत्ति भएका यिनीहरूले अब पनि देश र जनताका पक्षमा केही राम्रो काम गर्लान् भनेर आशा राख्नु गोरु ब्याउला र बिगौती खान पाइएला भनेर आशा गर्नुजस्तै मात्र हुनेछ ।

त्यसैले आफूले जेजस्तो सामाजिक वातावरण पाए पनि हाम्रा सन्तानहरूले सुन्दर भविष्य पाउन् भन्नका लागि पनि दल वा स्वतन्त्र केही नभनी योग्य र सम्भावना बोकेका पात्रलाई चयन गरी मतदाताको कर्तव्य पूरा गर्नु समयको माग हो । अन्यथा हामीले नै आफ्ना सन्ततिहरूमाथि अन्यय गरेको अर्थ लाग्नेछ ।

सम्बन्धित समाचार