मृत अवस्थामा ८ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-२५ क्षेत्रपाटी न्हयोखामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै धनुषा, जनकपुर उपमहानगरपालिका-८ बजरंग चौकस्थित सिरहा मिर्चैया नगरपालिका-१ मनहर्वा गाउँ बस्ने ४५ वर्षीय श्याम महतो मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता झापा, अर्जुनधारा नगरपालिका-४ स्थित बिरिङ खोलाको किनारमा सोही नगरपालिका-५ कञ्चनबारी बस्ने ५० वर्षीया गंगा भण्डारी मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।



यस्तै कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-४ कालिका टोल बस्ने ६५ वर्षीय लालु सार्की सोही नगरपालिका-४ लठ्ठाघाटस्थित माछापोखरीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । सोही नगरपालिका थापा चौराहबाट सोमबारदेखि हराई रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र अस्थायी प्रहरी पोष्ट झोलुङ्गेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त पोखरीमा उनको शव फेला पारेको हो ।

त्यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-१ कुञ्जाकल्ली बस्ने ४९ वर्षीय वीर बहादुर डगौरा सोही ठाउँस्थित बन्दा नदीको किनारामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । आइतबार दिउँसो स्थानिय पहरीया बजारमा जान्छु भनी हिँडेका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त नदी किनारमा उनको शव फेला परेको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा सोही ठाउँ ५० वर्षीय ज्योती बुढाले आफ्नो खेतमा बदेल रोकथामको लागि छोडेको करेन्ट लागेर उनको मृत्यु भएको र उक्त नदी किनारमा शव फालेको खुल्नआएपश्चात बुढा लगायत ७ जनालाई आवश्यक अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कैलाली, घोडाघोडी नगरपालिका-५ बनखेतस्थित शिवसमाज समुदायिक वनभित्र रहेको बनखेत तालमा कंचनपुर घर भएका ४५ वर्षीय शिव नेपाली मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै बर्दिया, राजापुर नगरपालिका-१ दौलतपुरघाटमा हाल नाम, थर, वतन नखुलेका करिब ४ वर्षीय बालक मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यता कास्की, पोखरा महानगरपालिका-३३ बाघमारा चमेरेघाटस्थित सेती नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार