नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ असोज ।
नाबालिकामाथि बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।
यसअघि उनलाई सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो । गत असोज २० गते प्रहरीले उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो । प्रहरीले थप अनुसन्धान गर्नुपर्ने भएकोले बिहीबार पुनः ७ दिन म्याद मागेको थियो ।
तर सन्दीपका वकिलहरूले भने ७ दिन धेरै हुने भएकाले ३ दिन मात्र दिनुपर्ने बताएका थिए । अदालतले भने ५ दिन म्याद थपेको छ । लामिछाने विदेशमा नै रहेको बेला गत भदौ २१ गते एक बालिकाले आफू लामिछानेबाट बलात्कृत भएको प्रहरी समक्ष जाहेरी दिएकी थिइन् । आरोपित लामिछानेले भने आफू निर्दोष भएको बताइरहेका छन् ।