नवकान्तिपुर संवाददाता
काठमाडौं, २ कार्तिक ।
अष्ट्रेलियामा जारी आठौं संस्करणको आईसीसी टी-२० विश्वकप क्रिकेटमा दुई खेलहरु हुँदैछ । आज (बुधबार) हुने पहिलो खेलमा स्कटल्याण्ड र आयरल्याण्ड भिड्दै छन् भने दोस्रो खेलमा वेस्ट इण्डिज र जिम्बाबे आमने सामने हुँदैछन् ।
अष्ट्रेलियाको होबार्टमा हुने पहिलो राउण्ड अन्तर्गत समूह ‘बी’ को स्कटल्याण्ड र आयरल्याण्डबीचको खेल नेपाली समय अनुसार बिहान ९:४५ मा सुरु हुनेछ । पहिलो खेलमा जित हात पारेको स्कटल्याण्ड लगातार दोस्रो जित हात पर्दै अर्को राउण्ड पुग्ने लक्ष्यको साथ् मैदान उत्रदैछ भने आयरल्याण्ड पनि प्रतियोगितामा पहिलो जित हात पार्ने सुरमा रहेको छ ।
त्यस्तै आज हुने दोस्रो खेलमा समूह ‘बी’मा रहेका वेस्ट इण्डिज र जिम्बाबे आमने सामने हुँदैछन् । नेपाली समय अनुसार दिउँसो १:४५ मा हुने खेलमा वेस्ट इण्डिज प्रतियोगितामा पहिलो जित हात पार्ने योजनामा रहेको छ । वेस्ट इण्डिज पहिलो खेलमा स्कटल्याण्डसँग स्तब्ध भएको थियो । यता जिम्बाबे पनि लगातर दोस्रो जित निकाल्ने योजनाका साथ मैदान उत्रदैछ ।
१६ राष्ट्र सहभागी विश्वकपमा १६ टोलीमा ८ टोलीले पहिलो राउण्ड खेल्नेछन् । पहिलो राउण्डको समूह ‘ए’ मा श्रीलंका,नामिबीया,यूएई र नेदरल्यान्ड्स रहेका छन् भने समूह ‘बी’ मा वेस्ट इन्डिज, जिम्बाबे, आयरल्याण्ड्स र स्कटल्याण्ड रहेका छन् । शीर्ष दुई दुई टोली सुपर १२ मा पुग्नेछन् । सुपर १२ को समूह ‘ए’ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता रहनेछन् । सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश समूह बी को विजेता र समूह ‘ए’ को उपविजेता हुनेछन् ।