नवकान्तिपुर संवाददाता
काठमाडौं, २ कार्तिक ।

ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मंगलबार राति ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक ५५५६ नम्बरको ट्र्याक्टर ट्र्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा ताप्लेजुङ मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्र्याक्टर चालक पासाङ शेर्पा, वर्ष २४ का फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका वर्ष २२ की शर्मिला शेर्पा र वर्ष १७ की लाकी शेर्पाको मृत्यु भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए ।
उनीहरू सबैको घटनास्थलमा नै मृत्यु भएको हो । ट्र्याक्टर सडकबाट करिब दुई सय मिटरमुनि झरेको बताइएको छ । अध्यक्ष वनेमका अनुसार ट्र्याक्टर चालक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युत्को सवस्टेशनबाट काम्साङ जाने क्रममा रहेका थिए भने अन्य दुई जना समेत घरतर्फ फर्किने क्रममा ट्र्याक्टरमा सवार थिए ।

