नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ कार्तिक ।

दुई साताअघि काठमाडौँ महानगरपालिकाबाट खटिएको नगर प्रहरीको टोलीले थापाथली क्षेत्रबाट पानीपुरी र चटपटे बेच्दै गरेको एउटा ठेला गाडा उठायो । तर ठेलागाडा नियन्त्रण लिने क्रममा निकै नै हृदयविदारक दृश्य देखिएको थियो ।
ठेला गाडामा चटपटे र पानीपुरी बेच्ने गरेकी लमजुङकी सर्मिला तामाङ (३४)ले नगरप्रहरीसँग ठेलागाडा नलगिदिन निकै अनुनय विनय गरेकी थिईन । उनले प्रहरीसँग रुदै भनेकी थिईन, ‘मेरो दायाँ हात भाँचिएर स्टिल राखिएको छ । मैले आफ्नो उपचारका लागि, पाखुरामा राखिएको स्टिल झिक्नका लागि र घर परिवार पाल्नका लागि यो सानो व्यवसाय थालेकी थिएँ । यो ठेलागाडा पनि विदेशमा बस्ने नेपालीको सहयोगमा प्राप्त भएको हो । बरु यहाँ यसरी ठेलामा व्यापार गर्न पाईदैन भनेर भनेको भए हुन्थ्यो म आउँदिनथे ।’
ठेलागाडा समाएर रोएको त्यो दृश्यले धेरैको मन छोयो । त्यसमध्येका एक थिए डा. बुद्धिमान श्रेष्ठ । कान्तिपुर डेन्टल कलेज तथा जनरल हस्टिलका सञ्चालक समेत रहेका डा. श्रेष्ठले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै लेखिदिए, यो बैनीलाई म सहयोग गर्न तयार छु, केडीसी अस्पताल बसुन्धारा काठमाडौँले हातको स्टिल निकाल्न सहयोग गर्न तयार छ ।
घोषणा गरेको दश दिनमै डा श्रेष्ठले प्रतिवद्धता पुरा गरेका छन् । गत बिहीबार केडीसी अस्पताल आएर भर्ना भएकी तामाङको शुक्रबार शल्यक्रिया गरी हातको स्टील निकालिएको छ । अर्थोपेडिक सर्जन डा. सविन पोखरेल नेतृत्वको टोलीले उनको शल्यक्रिया गरेको हो । अस्पतालका प्रशासन प्रमुख रोजिका प्रधानले तामाङको शल्यक्रिया सफल भएको र सोमबारसम्म डिस्चार्ज गर्ने तयारी भएको जानकारी दिईन् । अस्पतालमा उपचाररत तामाङले केडीसीले आफूलाई निकै ठूलो गुन लगाएको प्रतिक्रिया दिईन् ।

