वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय भेलामा के भने माधव नेपाल र प्रचण्डले ?

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विशाक्त भावनालाई फालेर संयुक्त यात्राको मार्गमा अगाडि बढ्न आग्रह गरेका छन् ।

वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार काठमाडौँमा सम्बोधन गर्दै उनले गठबन्धनको संयुक्त सहकार्य र अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने र संयुक्त उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।



निकै ठूलो चुनौतीको सामना गरेर आफूहरु अगाडि बढेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री नेपालले संविधान र राज्यभन्दा माथि ठान्ने, पार्टीभन्दा माथि ठान्ने प्रवृत्ति तत्कालीन नेकपाको नेतृत्वमा देखा परेको र त्यसकाविरुद्ध विद्रोह गरिएको हो भने ।

पार्टी र नेतामा देखापरेको अह्मका कारण जनताको चाहनामा कुठाराघात हुने अवस्था आएपछि आफूहरुले विद्रोह गरेको उनले बताए। गणतन्त्रको आन्दोलनमा पनि कम्युनिष्ट र कांग्रेस एकआपसमा मिलेर नै सफल बनाइएको तथ्य उनले पेश गरे। न्याय र समानतामूलक समाज स्थापनाका लागि प्रतिगामी गठबन्धनका विरुद्ध साझा मतका साथ उभिन आग्रह उनले गरे ।

नेपालको आफ्नो विशेषतामा आर्थिक विकास र समृद्धिको योजना लागू गर्नुपर्ने उनको भनाइ थियो। उनले कृषिमा वैज्ञानिक विधिको प्रयोग गरेर उत्पादकत्व बढाउनुपर्ने, प्राकृतिक स्रोत तथा साधनको उपयोग गर्दै देशभित्रै रोजगारी उपलब्ध गराउनुपर्ने धारणा राखे ।

आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा रुपान्तरण गर्ने विषयमा चासो र चिन्ता हुनुपर्ने स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री नेपालले बुद्ध जन्मेको देशले आर्थिक सामाजिक रुपान्तरणको खाका बनाउनुपर्ने बताए । पूर्वप्रधानमन्त्री नेपालले भने, ‘हामी देश विकासको नयाँ यात्रामा अगाडि बढ्न चाहन्छौँ। हामी पुनःजाँचिन चाहन्छौँ । हाम्रो गठबन्धनले जित्नुपर्छ । सहमतिका साथ उठाएका उम्मेदवारलाई जिताउन लाग्नुपर्छ ।’

पूर्वप्रधानमन्त्री नेपालले शक्ति वृद्धिका लागि एकले अर्कालाई विजयी गराउनुपर्नेमा जोड दिए । “यो एक दिन दुई दिनको यात्रा होइन । गठबन्धन यथार्थ भएका हुनाले, गाउँ टोल बस्ती बस्तीमा गएर गठबन्धनका पक्षमा माहोल बनाउन र विजयी गराउनुपर्छ”, पूर्वप्रधानमन्त्री नेपालले भने ।

तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा आम नेपालीलाई शुभकामना दिँदै उनले पार्टी र निर्वाचन चिह्न अलगअलग भए पनि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

त्यस्तै नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा दुई वटा विचार र सिद्धान्तबीच आमनेसामने हुने बताएका छन् । संविधान, गणतन्त्र, समावेशी र समानुपातिक गणतन्त्रका पक्षमा वाम लोकतान्त्रिक गठबन्धन खडा भएको उल्लेख गर्दै उनले संविधान तथा गणतन्त्रका पक्षमा उभिने र त्यसलाई स्वीकार नगर्नेकाबीचमा निर्वाचनमा सङ्घर्ष हुने बताए ।

वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘दुई वटा विचार, प्रवृत्ति, संस्कृतिका बीचमा आमनेसामने हुँदैछ । संविधानको संरक्षणका साथै सङ्घीयता र समानुपातिक प्रतिनिधित्वका पक्षमा आफूहरुको गठबन्धन रहेको उनको भनाइ थियो ।’

अध्यक्ष दाहालले परिवर्तन र अग्रगमनका पक्षधर र त्यसको विरोधीका बीचमा मङ्सिर ४ गते सङ्ग्राम हुने धारणा राखे। उनले प्रत्येक निर्वाचन कुनै पनि राजनीतिक विषयमा केन्द्रित हुने गरेको तथ्य पेश गर्दै अग्रगमन र परिवर्तनका पक्षमा उभिने कि नउभिने भन्नेबारेमा आगामी निर्वाचन पनि केन्द्रित भएको बताए ।

उनले भने, ‘विगतमा संविधान मिच्ने, प्रतिनिधिसभा विघटन गर्ने दुष्प्रयास गरियो। त्यसका विरुद्ध हामी सबै उभियौँ। सङ्घर्षका बीचमा गठबन्धन बनेको हो । सानो मेहनत र सानो कसरतबाट यो गठबन्धन जन्मेको होइन । त्यसकारण यसका उम्मेदवारलाई विजयी गराउनु आजको आवश्यकता हो ।’

शक्ति सन्तुलन हाम्रो पक्षमा नभएको भए देश ठूलो दुर्घटनामा जाने खतरा रहेको उनको भनाइ थियो । नेपालमा शान्ति प्रक्रिया सुरु गरेको र १२ बुँदे समझदारीका सहयात्री हामी एकै ठाउँमा रहेको भन्दै पूर्वप्रधानमन्त्री दाहालले यो निर्वाचन जित्ने उद्देश्यका लागि मात्रै नभएको बताए । नेपाली जनताले प्राप्त गरेको अधिकारलाई थप स्थापित गर्न र आर्थिक समृद्धिको चाहना पूरा गर्न पनि केन्द्रित रहेको उनको भनाइ छ ।

तत्कालीन एमालेको नेतृत्वमा माधवकुमार नेपाल नै भएकाले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको जानकारी दिँदै अध्यक्ष दाहालले भने, ‘परिवर्तन, प्रगति, स्थिरता चाहने शक्ति एक ठाउँमा उभिएको र अर्कोतर्फ निरङ्कुशता र सामान्तवादतर्फ लैजान चाहने शक्ति उभिएका छौँ । यो स्वभाविक र प्राकृतिक छ ।’

विगतदेखिकै स्वाभाविक सहयात्री एक ठाउँमा उभिएको जानकारी दिँदै उनले सानातिना खुद्रा कुरामा अड्किएर राष्ट्रिय हितलाई पर सार्न नमिल्ने बताए । उनले राजनीतिक आन्दोलनसँगै आर्थिक परिवर्तन, क्रान्ति र सुशासन कायम गर्नुपर्ने र जनताको जीवनमा आर्थिक समृद्धिको यात्रा सुरु गर्नुपर्नेमा साझा धारणा रहेको बताए ।

‘स्थिरता र समृद्धिका लागि गठबन्धन’ भन्ने मूल नाराका साथ गठबन्धन चुनावी मैदानमा होमिएको तथ्य पेश गर्दै अध्यक्ष दाहालले आर्थिक विकासलाई गति दिने एक अठोटका साथ जनतामा गयौँ भने नेपाली जनताले पुनःभरोसा प्रदान गर्ने स्पष्ट पारे ।

उनले गठबन्धनले उम्मेदवार बनाएका सबै उम्मेदवारलाई आफ्नै उम्मेदवार ठानेर मतदान गर्न र विजयी गराउन आग्रह पनि गरे। कुनै पनि दुविधा नराखी स्वाभाविक सहयात्री र गठबन्धनका उम्मेदवारलाई विजयी गराउने उद्देश्यका साथ जनताको घरदैलोमा जानसमेत उनले आग्रह गरे ।

सम्बन्धित समाचार