आसन्न निर्वाचन : उम्मेदवारको उमेरमात्र योग्यताको मापदण्ड बन्न सक्तैन

महाथिर मोहमद ९८ वर्षका भए तर उनलाई मलेशियाको भावी प्रधानमन्त्रीका रूपमा हेरिँदै छ । महाथिर २२ वर्ष मलेसियाका प्रधानमन्त्री बने र उनैले नै समृद्ध आधुनिक मलेसियाकाको मार्गचित्र कोरेका थिए । ८१ वर्षको उमेरमा जो बाइडेन संयुक्तराज्य अमेरिका जस्तो शक्तिशाली देशको राष्ट्रपति बनेर संसारलाई आफ्नो विशिष्ट उपस्थितिको आभास दिलाइरहेका छन् । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि ७२ वर्षका भए, समकालीन विश्वमा उनी बहुचर्चित र लोकप्रिय प्रधानमन्त्रीका रूपमा समेत परिचित छन् । अर्को छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिनपिङ ६९ वर्षको उमेरमा तेस्रो कार्यकालका लागि पुनः चुनिएका छन् । कर्मशील र दूरदृष्टि भएका व्यक्तिका लागि उमेरले मात्र खास्सै महत्व राख्दैन भन्ने कुराका लागि यी केही प्रतिनिधि उदाहरणहरू हुन् ।

महत्वपूर्ण कुरा भनेको उनीहरूको नियत र नीति हो, भिजन र सक्रियता हो । भिजन बन्नका लागि अध्ययन, स्वअध्ययन, अनुभव र योजनासहितको आत्मविशवासको आवश्यकता पर्दछ । हिजो कुनै सन्दर्भमा को कति वर्ष जेलमा बस्यो वा कसले विगतमा देशका हितमा के गर्यो भन्ने कुराको अभिलेख इतिहासले राख्ला तर यत्ति योग्यताको भरमा आजीवन देशलाई दोहन गर्ने छुट कसैलाई हुँदैन र हुनु हुँदैन पनि । वर्तमान समयमा नेतृत्वका लागि उसले आफूलाई कति योग्य सावित गर्न सक्यो भन्ने कुराले अहम् भूमिका राख्दछ । यसैका आधारमा उम्मेदवारको मूल्याङ्कन गरिनु पर्छ ।



उमेर त अङ्कको काउण्ट डाउन मात्र हो । भिजन नभएको र आलसी व्यक्ति उमेरले ३० वर्षको भए पनि ऊ बुढो हो । जोश, जाँगर, अठोट र केही गर्ने आत्मविश्वास भएको स्वस्थ व्यक्ति उमेरले ९९ भए पनि ऊ युवा हो । त्यसैले व्यक्ति उमेरले ‘योङ’ भएर मात्र पुग्दैन, ‘योङ हर्ट’ हुनु जरुरी छ । यस मानेमा समकालीन समाजलाई नेतृत्व प्रदान गर्ने जोश, जाँगर, आत्मविश्वास र भिजन केही नभएका तथा नेतृत्वदायी भूमिकामा रहेर पटक पटक असफल सावित भएका उम्मेदवारहरू उमेरका हिसाबले मात्र होइन, भोलि उनीहरूले राष्ट्रिय राजनीतिमा खेल्नुपर्ने भूमिकाका आधारमा पनि अयोग्य सावित भइसकेका छन् ।

नेपालका परिचित र पुराना नेताहरू उमेरका हिसाबले जति वृद्ध देखिन्छन्, भिजन र आत्मविश्वासका हिसाबले त्योभन्दा धेरै गुणा बढी बुढा र शिथिल देखिन्छन् । शारीरिक हिसाबको त झन के कुरा गर्नु ? अर्काको सहाराविना दुई पाइला चाल्न नसक्ने र सभा–समारोहमा ह्राल सिँगान चुहाएर अन्तर्राष्ट्रिय स्तरमा बेइज्जती गर्नेलाई अझै पनि सत्ताको बागडोर चाहिएको छ । उनीहरू अर्को योग्य साथीलाई उत्तराधिकारी घोषणा गर्न सक्तैनन् बरू उठ्नै नसक्ने गरी किनारा लगाइदिन्छन् । जसले आफैंलाई सँभाल्न सक्तैन, उसले देशको चुनौतीलाई कसरी नेतृत्व प्रदान गर्न सक्छ ? अनि पटक पटक असफल भएका यिनीहरूले यस पटक चाहिँ के चमत्कार गर्लान् भनेर आशा गर्न सकिन्छ ? उनीहरूसँग न देशका तमाम समस्याहरूसँग जुध्ने सामथ्र्य छ, न स्पष्ठ भिजन नै । त्यसैले अयोग्यलाई विश्वासको मत दिनु भनेको आफ्नै मतकै अवमूल्यन गर्नु सरह हो । उनीहरूको उम्मेदवारी पदलोलुपताबाहेक अरू केही होइन । नेपाली जनताले उनीहरूबाट समृद्धिको सपना नदेखे हुन्छ । बरू यस पटक नयाँलाई मौका दिएर हेर्नु उपयुक्त विकल्प हुन सक्छ ।

स्थानीय तहको निर्वाचनबाट निर्वाचित केही नयाँ तथा स्वतन्त्र जनप्रतिनिधिले छोटो समयमा गरेको कामको प्रगति देखेर राष्ट्रिय राजनीतिमा पनि त्यस्तै आँटिला र जोसिला जनप्रतिनिधिको अपेक्षा गरिदै छ । आफ्नै पालोमा परिवर्तन र समृद्धिको सपना देख्ने हो भने मतदाताहरू नै चलाख हुनुपर्ने बेला आएको छ । भ्रष्टलाई मत दिएर भ्रष्टाचार भयो भन्न मतदाताहरूको पनि नैतिक धराताल रहने छैन ।

पुराना शीर्ष नेताहरूको यस पटकको उम्मेदवारी हिजो सत्तामा हुँदा आफूले गरेको मोजमस्ती सम्झेर त्यो अवसर अर्कोले पाउला कि भनेर गरिएको ईष्र्याको राजनैतिक अभिव्यक्ति मात्र हो, एउटा बालहठ हो । उनीहरू स्वयम्लाई आफ्नो योग्यता र क्षमता राम्रोसँग थाहा छ । घोषणापत्रमा समृद्धिका नारा लेखाउँँदैमा समृद्धि आउने भए नेपाल धेरै पहिला नै अमेरिका, बेलायत, जापान वा सिङ्गापुरका हाराहारीमा पुगिसक्थ्यो होला । प्रतिज्ञापत्र वा घोषणापत्र त मतदातालाई भ्रमित पार्ने सुदखारहरूले बनाएको जाली तमसुकजस्तै मात्र हो, त्यसमा उल्लेखित विषयहरू कहिल्यै पूरा हुँदैनन् र पूरा हुने खालका पनि हुँदैनन् । घोषणापत्रमा लेखिएका कुराहरूप्रति कसैले कसैप्रति पनि जवाफदेही बन्नु नपर्ने भएपछि त्योे एउटा कर्मकाण्डमा मात्र सीमित देखिन्छ ।

पछिल्लो समय सामाजिक सञ्जाल पुराना उम्मेदवारका आकर्षक नारा र फोटाहरूले भरिएका छन् । मानौं कुनै अमुक पात्रले चुनाव जित्नेबित्तिकै देशमा कायापलट भइहाल्ने छ । कुनै विज्ञ वा विज्ञापन एजेन्सीले बनाएका नारा र डिजाइनले मात्र सामाजिक रूपान्तरण हुने भए धेरै अगाडि नेपाली समाज समृद्ध भइसक्नुपर्ने हो । प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रमा आइपुग्दा यस्ता नाराहरू त धेरैले धेरै पटक लेखिसकेका छन् तर पनि नेपाली समाज जहाँको त्यहीँ नै छ । बरू हिजो हात्ती छाप चप्पल पड्काएर सिंहदरबार छिर्नेहरू आज विलासी भवनमा बस्ने र करोडौं पर्ने गाडीमा सयर गर्ने भएका छन् । यसैलाई मात्र सामाजिक रूपान्तरण मान्ने हो भने त्यो अर्को बहसको विषय होला ।

अनि, कुनै उद्योग, व्यवसाय वा जागिरविना त्यो हैसियत कहाँबाट आयो भनेर प्रश्न गर्ने सामथ्र्य कुनै राजनैतिक कार्यकर्ता वा सामाजिक अभियन्तासँग छैन । अख्तियारले देख्तैन, प्रहरी प्रशासनले सक्तैन । सामाजिक सञ्जालमा उठेका केही थान सवालहरूलाई कसैले पनि गम्भीर रूपमा लिँदैनन् । शीशाको घरमा बस्नेले अर्काको घरमा ढुङ्गा प्रहार गर्यो भने त्यसको परिणाम् के होला भन्ने सबैले बुझेका छन् । त्यसैले पनि भ्रष्टका विरुद्धमा भ्रष्टहरूले मुख नखोल्दा भ्रष्टाचारले संस्थागत हुने अवसर पाएको हो ।

सत्तामा पुगेका भोलिपल्टदेखि मुलुकलाई समृद्धशाली भएको देख्ने चश्मा लगाएकाहरू र सत्ताबाट बहिर्गमन हुनेबित्तिकै सबैतिर बेथिति, लुट तथा लोकतन्त्र र गणतन्त्रमाथि नै गम्भीर षडयन्त्र भएको देख्छन् । यस्तो विशिष्ट खालका नजर भएका हाम्रा नेताहरूले गर्दा देश समृद्धशाली बन्दै जानुपर्नेमा झन झन दलदलमा भासिँदै गइरहेको हो । मुलुकलाई कङ्गाल बनाउने यिनै नाइकेहरू पुनः नयाँ आवरणमा नयाँ नारासहित हाम्रा घरआँगनमा नाटक मञ्चन गर्न आउँदैछन् । भोट माग्न पाउने उनीहरूको अधिकार होला तर यिनीहरूले नहारेसम्म देशको जित सम्भव नहुने कुरालाई मतदाताहरूले यस पटक पक्कै पनि बुझ्ने छन् ।

मुलुकको समृद्धिका लागि केही गर्न नसक्ने, भिजन शून्य भएका, भ्रष्टाचारको दलदलमा डुबेका, बेथिति र विसङ्गतिका शिखरपुरुषहरूलाई पुनः जिताउनु भनेको नेपाली जनताले आत्मघाती निर्णय गर्नु जस्तै हो । पार्टीले देश र जनताका पक्षमा केही गर्न सक्ने कर्मठ व्यक्तिलाई उम्मेदवार बनाउन सक्तैन भने कमजोर वा भ्रष्ट आरोपित उम्मेदारलाई नै मत दिनैपर्छ भन्ने केही छैन । यस पटक देशको हितमा मतदाताहरूले फ्लोर क्रस गर्ने हिम्मत गर्नुपर्छ । सामाजिक सञ्जालमा वा चिया पसलमा बसेर कुण्ठा पोखेर मात्र सामाजिक रूपान्तरण हुनेवाला छैन । त्यसैले आसन्न निर्वाचनमा मतदाताको विवेकको पनि परीक्षा हुनेछ । आफ्नो क्षेत्रका उम्मेदवारहरूमध्ये योग्य र सम्भावना बोकेका व्यक्ति छान्न पाउनु मतदाताहरूको नैसर्गिक अधिकार हो । यस अधिकारलाई बुझ्न सकेनौं भने फेरि पनि आउने पाँच वर्ष हामीसँग पछुताउनुबाहेक अर्को कुनै विकल्प रहने छैन ।

 

सम्बन्धित समाचार