आसन्न निर्वाचनमा एमालेले कस्तो रणनीति अपनाउँला ? निर्वाचन रोचक हुने अनुमान

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरु चुनावी अभियानमा होमिएका छन् । नेपालको मुख्य चाडबाड सकिएसँगै विभिन्न राजनीतिक दलहरु मतदाता रिझाउन जनताको घरदैलो देखि लिएर खेतबारीमा समेत पुग्ने गरेका छन् । आफ्नो पल्ला भारी पार्न दलहरु विभिन्न रणनीति अपनाईरहेका छन् । यसै क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई भने कसरी निर्वाचनमा जाने र कसरी आफ्नो विरासत जोगाउने भन्ने विषयको चिन्ताले सताएको छ ।

यस्तोमा एमालेले पनि बेग्लै किसिमको रणनीति अपनाउने अनुमान लगाउन सकिन्छ । आसन्न निर्वाचनमा सत्तारुढ दलको गठबन्धन र एमाले गठबन्धनबीच रोचक प्रतिस्पर्धा हुने अनुमान लगाउन सकिन्छ । स्थानीय तहको निर्वाचनमा सोचेअनुरुप नतिजा नआएपछि आसन्न निर्वाचनको लागि एमालेले पनि अन्य साना दलहरुसँग गठबन्धन गरेको हो । अघिल्लो निर्वाचनमा विजयी भएको स्थानमा एमाले आफ्नो विरासत कायम गर्ने योजनामा रहेको एमालेले विभिन्न रणनीति अपनाएको स्रोतले बताउँछ । अघिल्लो संघीय निर्वाचनमा अहिले गठबन्धनमा सामेल भएको नेकपा माओवादी केन्द्रको साथ पाएर बहमुत ल्याएको एमालेलाई अहिले भने आफ्नो विरासत नै जोगाउन मुस्किल पर्ने हो कि भन्ने अनुमान लगाउन सकिन्छ ।



विभिन्न दलहरुसँग गठबन्धन गरेपनि नेकपा एमालेलाई आसन्न निर्वाचनमा आफ्नो विरासत जोगाई राख्न हम्मे-हम्मे पर्ने देखिन्छ । अघिल्लो चुनावमा नेपाली कांग्रेसलाई एक्लाएर एमालेलाई साथ दिएको माओवादी केन्द्रले यसपटक भने एमालेलाई एक्लाएर नेपाली कांग्रेसलाई साथ दिएको छ । स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनको साथ पाएर बहुमत ल्याएको नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि बहमुत ल्याउन सक्ने अनुमान गर्न सकिन्छ । यद्यपि स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनको सामना गरेको एमालेले आगामी निर्वाचनमा पनि गठबन्धनलाई चुनौती दिन सक्नेछ ।

विरासत जोगाउन एमालेले गर्यो तालमेल
आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि प्रमुख प्रतिपक्षी दल पनि गठबन्धन निर्माण गरेको छ । गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धाका लागि एमाले पनि विभिन्न साना दलहरुसँग तालमेल गरेको हो ।

एमालेले आगामी निर्वाचनमा लागि जनता समाजवादी पार्टी नेपाल (जसपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) सहितका दलसँग चुनावी गठबन्धन गरेको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली स्वयं आगामी निर्वाचनको लागि गठबन्धन निर्माणको गृहकार्यमा रहेका थिए । यसअघि एमालेले लोसपासँग पनि तालमेल गर्ने लगभग सहमति भएको थियो तर अन्तिममा आएर लोसपा सत्ता गठबन्धन दलमा समावेश भएपछि तालमेलको विषय समाप्त भएको थियो । र, जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी प्रवेश गरेको थियो ।

एमालेलेले बहुमत ल्याउँछ : ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने बताएका छन् । उनले एमाले देशका लागि काम गर्ने पार्टी भएको दाबी गरे । यस पटकको निर्वाचनले देशको भाग्य र भविष्य निर्माण गर्ने पनि उनको भनाई छ ।

अध्यक्ष ओलीले जनताको राष्ट्र निर्माणको आकांक्षालाई पूरा गर्न र जनताको सार्वभौम सत्ता स्थापित गर्न अपरिहार्य रहेको भन्दै हिजोका कम हेरेर अबको निर्वाचनमा नागरिकले उम्मेदवार छान्ने बताए । आफूलाई पार्टीभित्रका मान्छेले छेक्दाछेक्दै दुई वर्ष मात्रै सरकार सञ्चालन गरेर काम गरेर देखाएको अध्यक्ष ओलीले बताए ।

ओलीले दिए यस्तो निर्देशन
ओलीले आगामी संसदीय तथा प्रादेशिक निर्वाचनमा एमालेले नजिते देश झनै बर्बादीतर्फ जाने बताएका छन् । एक कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनले गरेको ज्यादती र मुलुकविरोधी सरकारका कार्यबारे उल्लेख गर्दै यस्तो बताएका हुन् ।

ओलीले कार्यकर्ताहरुलाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिँदै एमालेका सबै संगठनलाई चुनावी तयारीका लागि लाग्न आग्रह गरे । ‘अब हाम्रा हरेक जनसंगठन टोलटोलमा संगठन, घरघरमा सदस्यको अभियान पूरा गर्न लाग्नुपर्छ,’ ओलीले भने । गत स्थानीय निर्वाचनमा एमालेको भोट बदर भएको स्मरण गर्दै अध्यक्ष ओलीले टोल टोलमा घर घरमा एमाले कार्यकर्ताहरु खटिनुपर्ने बताए ।

त्यस्तै, उनले अब पार्टीभित्रै आफ्नैलाई हराउने कार्यमा लाग्नेमाथि कुनै छुट नहुने पनि स्पष्ट पारे । ‘स्थानीय निर्वाचनको परिणाम जे भयो, भयो । अब हामीले हाम्रो कमीकमजोरीलाई आफैँले महसुस गरी अघि बढ्नुपर्छ, सबैले आफैमाथि समिक्षा गर्नुपर्छ,’ ओलीले भने ।

एमालेलाई गठबन्धनको भय
आगामी संघीय निर्वाचनमा नेकपा एमालेलाई पाँच दलीय गठबन्धनको भय रहेको छ । अघिल्लो निर्वाचनमा पहिलो पार्टी बनेको एमालेलाई यसपाली भने कसरी निर्वाचनमा जाने भन्ने विषयमा चिन्ताले सताएको छ । अघिल्लो निर्वाचनमा विजयी भएको स्थानमा पनि एमालेलाई गठबन्धनको सामना गर्नु पर्नेछ र गठबन्धनको अगाडी विजयी हात पार्न एमालेलाई भने त्यति सहज हुने छैन ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्ने गठबन्धनको निर्णय
स्थानीय तह निर्वाचनमा तालमेल गरेर निर्वाचनमा होमिएको पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि तालमेल गर्ने निर्णय गरिसकेको छ । स्थानीय तह निर्वाचनमा चुनावी तालमेलपछि आएको परिणामबाट सत्ता गठबन्धन आबद्ध दलहरू हौसिएका थिए । सत्ता गठबन्धनमा आवद्ध शीर्ष नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय गरेका थिए । गठबन्धनमा सत्तारूढ नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

सम्बन्धित समाचार