नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ कार्तिक ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट चुनावी घोषणापत्र प्रविधिबाट सार्वजनिक गरेका हुन् ।
पार्टीलेअघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिँदै एमालेले राष्ट्रिय हित स्वाधीनताको रक्षामा जोड दिएको छ । घोषणापत्रमा कुल २० हजार शब्द रहेको छ । एमालेले श्रव्य दृश्यका माध्यमबाट आफ्नो दलले गर्ने काम कारबाहीका बारेमा जानकारी दिएको छ । घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रस्ट्याउने प्रयास गरिएको बताइएको छ ।
त्यस्तै घोषणापत्रमा पार्टीले मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । एमालेले आफ्नो घोषणापत्र कार्यान्वयन हुने २० वटा आधार पनि प्रस्तुत गरेको थियो । घोषणापत्र सार्वजनिकपछि अध्यक्ष ओलीसँग लाइभ डिबेट गरिएको छ । यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन बाध्यात्मक भएको बताएका छन् ।
यस्तै पार्टीले आगामी पाँच वर्षभित्र विद्युत् उत्पादन क्षमता छ हजार पाँच सय मेगावाट बराबर पुर्याउने लक्ष्य रहेको घोषणापत्रमा उलेख छ ।
‘सबैलाई बिजुली बत्ती, विद्युत्बाटै देशको उन्नति’ भन्ने नारा दिएको सो दलले आगामी दुई वर्षभित्र विद्युत्मा पहुँच हुने जनसङ्ख्या शतप्रतिशत पुर्याउने योजना अगाडि सारेको हो ।
सबै परिवारलाई गार्हस्थ्य उपभोगका लागि वर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा ३० युनिट विद्युत् निःशुल्क उपलब्ध गराउने विषयलाई सो दलले घोषणापत्रमा समावेश गरेको छ । त्यस्तै, प्रतिव्यक्ति विद्युत् खपत सात सय किलोवाट प्रतिघण्टा पुर्याउने लक्ष्य राखेको छ ।
स्वदेशी कच्चा पदार्थमा आधारित र आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुको उत्पादनमा जोड दिने सो पार्टीको दाबी छ । स्वदेशमा उत्पादन हुने खाद्यवस्तु, जुत्ता, औषधि, सिमेन्टजस्ता वस्तुको उपयोगमा प्रोत्साहन गर्ने, सहकारी तथा निजी क्षेत्रलाई कर, विद्युत् महसुल तथा ऋणमा उपयुक्त ब्याज अनुदान दिने विषयलाई घोषणापत्रमा समावेश गरिएको छ ।
समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने, राष्ट्रहित र नागरिक हितलाई सर्वोपरी राखी राज्य सञ्चालन गर्ने बताएको उक्त पार्टीले ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’को नीति कार्यान्वयन गर्ने दावी गरेको छ । ‘स्वच्छ पानी, सफा वातावरण, खेत बारीमा पानी, दोब्बर हुन्छ उब्जनी’ भन्ने नारा दिएको एमालेले सिँचाइका लागि वर्षायाममा बिजुली महसुलमा ५० प्रतिशत र हिउँदमा २५ प्रतिशत छुट दिने योजना रहेको बताएको छ ।
आगामी तीन वर्षमा सतह तथा भूमिगत सिँचाइबाट तराई मधेशमा थप तीन लाख हेक्टर जमिन सिञ्चित गर्ने, वैदेशिक रोजगारीमा फर्केका नेपालीलाई ऋण तथा सहुलियतका योजना ल्याउने सो पार्टीको दावी छ ।
यसैगरी एमालेले घोषणापत्रमा आगामी ५ वर्षमा नेपालको अर्थतन्त्रको आकार १०० खर्ब पुर्याउने र प्रतिव्यक्ति आय पनि अहिलेको दोब्बर बनाउने उल्लेख छ । त्यसैगरी एमालेले ५ वर्षमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या वार्षिक २५ लाख पुर्याउने र नेपालको प्रतिव्यक्ति आय २४ सय डलर अर्थात ३ लाख रुपैयाँ पुर्याउने पनि घोषणा गरेको छ ।
अघिल्लो निर्वाचनमा एमालेले घोषणा गरेको रसुवागढी–काठमाडौं र वीरगञ्ज–काठमाडौं रेलमार्गको निर्माण थाल्ने घोषणा गरेको छ ।आगामी छ वर्षमा भने एमालेले निर्माणाधिन पूर्व–पश्चिम विद्युतीय रेलमार्गको बर्दिबास–निजगढ रेलमार्गको निर्माण सम्पन्न गरी रेल नै सञ्चालनमा ल्याउने बताएको छ ।
त्यसैगरी एमालेको घोषणापत्रमा निजगढ–बुटवल खण्डको निर्माण थाल्ने र बाँकी भागको जग्गा अधिग्रहण थालिने समेत उल्लेख छ । सबै महानगर, काठमाडौंमा मेट्रो रेल, सहरी केवलकार र पड वे जस्ता आधुनिक परिवहन सेवा सञ्चालनका लागि आवश्यक अध्ययन गरी कार्यान्वयन गर्ने समेत एमालेको भनाइ छ । त्यस्तै नेपालको आफ्नै पानीजहाज चलाउने घोषणा पुनः दोहोर्याएको छ । नेपालका प्रमुख नदी हुँदै गंगाबाट कलकत्ता बन्दरगाह र समुद्रसम्मको जल यातायात सञ्चालन गर्ने समेत एमालेको घोषणा छ ।
एमालेको चुनावी घोषणापत्र