प्रमुख दलको चुनावी घोषणापत्र : कार्यान्वयन हुनेमा कति विश्वास राख्ने ?

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशको निर्वाचनका लागि देशका प्रमुख राजनीतिक दलहरुले आ-आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । सबै राजनीतिक दलहरुले विभिन्न योजनाहरु समेट्दै आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।

चुनावी घोषणापत्र सार्वजनिक भएपनि कार्यान्वयन हुनेमा जनताहरु त्यति आशावादी देखिएका छैनन् । यसअघि २०७४ मा भएको निर्वाचनमा पनि देशका प्रमुख भनिएका दलहरुले पनि चुनावी घोषणापत्रमा समेटिएका विषयहरु कार्यान्वयनमा नल्याउँदा यसपटक पनि जनताहरु दलहरुको चुनावी घोषणापत्रमा समेटिएका विषय प्राथमिकतामा नपर्नेमा ढुक्क रहेका छन् । जनताहरु प्रमुख दलको चुनावी घोषणापत्र केवल चुनाव जित्नको लागि मात्र बन्ने गरेको भन्दै आएका छन् । कांग्रेसले गत शनिबार, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाले सोमबार र नेकपा एमालेले मंगलबार घोषणापत्र सार्वजनिक गरेका हुन् ।



कसको घोषणापत्र कस्तो ?

नेपाली कांग्रेसको चुनावी घोषणापत्र
सत्तारुढ दल नेपाली कांग्रेसले आगामी मंसिर चार गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । गत शनिबार पार्टी मुख्य कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधिकारीहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ नारा रहेको घोषणापत्र महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय समितिले तयार पारेको हो । त्यस्तै चुनावी घोषणापत्रमै असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन नगर्ने प्रतिज्ञा गरिएको छ भने कांग्रेसले तीन वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने बताएको छ

कांग्रेसको चुनावी घोषणा पत्रमा ५ वर्षभित्र सबै नागरिकको बिमा र बिमामार्फत गम्भीर प्रकृतिका रोगको उपचार सुनिश्चित गर्ने बताएको छ । कांग्रेसले बिमा रकमको दायरा बढाई रु १० लाख पुर्याउने, पाँच वर्षमाथिका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अति विपन्न, अति अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयं सेविकालाई निःशुल्क बिमा गरिने, सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था गरिने, हरेक स्थानीय तहमा सुविधा सम्पन्न एम्बुलेन्स सेवा व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ । एकीकृत स्वास्थ्य पूर्वाधार मापदण्डअनुरुप पाँच वर्षभित्र स्वास्थ्य संस्था नभएका दुई हजार ६०० वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने, पाँच वर्षभित्र हरेक प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने, नसर्ने रोगको बढ्दो चापलाई मध्यनजर गरी स्थानीय तहको साझेदारीमा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गरिने भएको छ ।

घोषणापत्रबारे जानकारी दिँदै महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रले सम्पूर्ण क्षेत्रका मानिसको माग सम्बोधन गरेको बताए । ’हामीले आम मानिसलाई केन्द्रमा राखेर घोषणापत्र बनाएका छौं । खेलाडी, अपांगता भएका, साहित्य, सिनेमा, कला क्षेत्रका सबैको प्रतिनिधित्व घोषणापत्रले गरेको छ’ महामन्त्री शर्माले भने । त्यस्तै कांग्रेसले समुन्नत नेपालको परिकल्पना र संविधानको रक्षा गर्दै आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अठोट लिएको छ । कांग्रेसले निरन्तरतामा नवीनता र समुन्नत नेपालको मार्गचित्रसहितका विषयवस्तु प्रस्तुत गरेको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशका लागि ल्याएको सङ्कल्प पत्रमा पाँच वर्षभित्र १२ लाख ५० हजार रोजगारी सिर्जना गर्ने र न्यूनतम वार्षिक सात प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्ने प्रतिबद्धता जनाएको छ ।

क्षेत्रगत प्राथमिक एजेन्डाका रुपमा समग्र शिक्षा प्रणालीलाई आर्थिक–सामाजिक रूपान्तरण गरी सबै नागरिकलाई सक्षम, सबल र स्वाभिमानी बनाउने काँग्रेसको लक्ष्य छ । गुणस्तरीय शिक्षाको सुनिश्चितता नभएको, प्राविधिक शिक्षा सबैको पहुँचमा नपुगेको र सूचना प्रविधिको तीव्र तर बदलिँदो अवस्था र प्रयोगलाई मध्यनजर गर्दै २१औँ शताब्दीले आत्मसात् गरेको सिकाइ पद्धति अपनाएर वर्तमान शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्ने कांग्रेसकको प्रतिबद्धता छ ।

घोषणापत्र अर्थशास्त्री तथा योजना आयोगका पूर्वउपाध्यक्षहरू डा स्वर्णिम वाग्ले, डा गोविन्द पोखरेल, शिक्षाविद् डा कृष्णप्रसाद पौडेल, राजनीतिक विश्लेषक तथा वैदेशिक मामिला जानकार गेजा शर्मा वाग्ले, शंकर तिवारीलगायत कांग्रेस नेताहरुले लेखेका हुन् ।

नेकपा माओवादी केन्द्रको चुनावी घोषणापत्र
नेकपा माओवादी केन्द्रले आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचको लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । गत सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा चुनावी घोषणापत्र सार्वजनिक गरिएको हो ।

घोषणापत्रमा शासकीय स्वरुप, निर्वाचन प्रणाली र संघीय संरचना लगायतमा परिवर्तन गर्न संविधान संशोधनलाई जोड दिएको छ । चुनावी घोषणापत्रमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रिपरिषद रहने व्यवस्था गर्न संविधान संशोधनमा जोड दिने उल्लेख छ ।

त्यस्तै पार्टीले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जोड दिएको माओवादीले १६५ सिटको प्रतिनिधिसभा र ५५ सिटको राष्ट्रियसभा हुनुपर्ने बताएको छ । यस्तै, सातै प्रदेशमा संघमा जस्तै प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख र प्रदेश प्रमुखद्वारा मन्त्रिमण्डल रहने र विधान क्षेत्रमा मात्रै केन्द्रित प्रदेश सभा गठन गर्ने प्रस्ताव गरिएको छ ।

पार्टीको घोषणापत्र सार्वजनिक भइसकेपछि सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि मिल्ने शासकीयस्वरुप प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएको र आम जनताको पहुँच रहने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुने विषयलाई प्रतिबद्धतापत्रमा समावेश गरिएको बताए । उनले नेपालको आर्थिक समृद्धिका लागि अब आफूहरूले सम्पूर्ण तागत लगाएर काम गर्ने उल्लेख गर्दै नेपाललाई शान्ति क्षेत्रका रुपमा अघि बढाइने र स्वास्थ्य र शिक्षामा राज्यको जिम्मेवारी हुने गरी काम गर्दै जाने बताए ।

संविधान निर्माणको प्रक्रियामा समेत नेपाली जनताले शासकीय पद्धति परिवर्तनको पक्षमा आफ्नो मत अभिव्यक्त गरी सकेकाले लोकतान्त्रिक गणतन्त्रलाई प्रभावकारी बनाउन शासकीय पद्धति परिवर्तन गर्नुपर्ने चुनावी घोषणापत्रमा उल्लेख छ । माओवादीले विद्युत्को खपत बढाउने तथा पेट्रोलियम पदार्थको आयातका लागि मोटो रकम विदेश पठाउनुपरेको सन्दर्भलाई उल्लेख गर्दै नेकपा ९माओवादी केन्द्र०ले विद्युतीय सवारीसाधनको प्रवद्र्धनलाई आफ्नो रणनीतिक महत्वको योजनाका रुपमा चित्रण गरेको छ ।

विद्युतीय सवारीसाधनको प्रवद्र्धन विस्तार गर्ने र त्यसका सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सहभागिताको विषयलाई जोड दिएको छ । काठमाडौँं उपत्यकाभित्र बढ्दो सवारीसाधनको सङ्ख्यालाई न्यूनीकरण गर्दै ठूला क्षमताका कम्तीमा पाँच सय विद्युतीय बस सञ्चालन गर्ने माओवादीको योजना छ । त्यसबाट पेट्रोलियम पदार्थको आयातमा केही कमी आउने, उपत्यकाको सार्वजनिक सवारीसाधनको व्यवस्थापनमा समेत सहयोग पुग्ने सो पार्टीको ठहर छ ।

आन्तरिक रुपमा उत्पादन भएको विद्युत्को सहज खपत तथा वातावरणमैत्री सवारीसाधनको प्रयोगमा जोड दिने विषयलाई माओवादीले महत्वका साथ समावेश गरेको छ । माओवादीले पूर्व–पश्चिम तथा उत्तर–दक्षिण राजमार्ग, लोकमार्ग तथा द्रुतमार्गहरूको निर्माण तथा स्तरोन्नतिको कामलाई तीव्र गतिमा अघि बढाउने भएको छ ।

काठमाडौँ—तराई—मधेस दु्रत मार्गको निर्माण कार्यलाई तीव्रता दिने, काठमाडौँ उपत्यका र अन्य सहरका चक्रपथको स्तोरन्नति र बाहिरी चक्रपथको निर्माण बढाइने सो दलको योजना छ । पूर्व–पश्चिम रेल सञ्चालन गर्न रेलवे निर्माणको कार्यलाई समयमै सम्पन्न गर्ने, वीरगञ्ज–काठमाडौँ, रसुवागढी–काठमाडौँ, पोखरा–लुम्बिनी विद्युतीय रेलमार्ग निर्माणको कामलाई प्राथमिकता दिने, काठमाडौँ उपत्यकाको बागमती, विष्णुमती, धोवीखोला र मनोहरा कोरिडोरमा मोनोरेलको निर्माण कार्य अघि बढाउने लक्ष्य राखिएको छ ।

चक्रपथ वरिपरि र बुढानिलकण्ठ–सानेपा तथा थानकोट– साँगा खण्डमा मेट्रो रेल परियोजना अघि बढाउने विषयलाई पनि सो दलले आफ्नो प्रतिबद्धतापत्रमा समावेश गरेको छ । पोखरा, विराटनगर, बुटवल, जनकपुर, नेपालगञ्जलगायत मुख्य सहरहरूमा मेट्रो र मनोरेल, ट्रलीलगायत आधुनिक सार्वजनिक यातायात सञ्चालन गर्ने, कोशी, गण्डकी, कर्णाली लगायतका प्रमुख नदी प्रणालीमा जलमार्गको विकासका निम्ति योजना निर्माण गरी कार्यान्वयनमा ल्याउने माओवादीले जनाएको छ ।

माओवादी केन्द्रले शैक्षिक क्षेत्रमा बन्द हड्ताललाई निरुत्साहित गर्ने भन्दै शैक्षिक क्षेत्रका विकृति, विसंगतिको अन्त्य गर्ने कुरामा प्रतिबद्धतासमेत गरेको छ। यस्तै, कक्षा १२ सम्मको शिक्षा निःशुल्क साथै अनिवार्य बनाउनुका साथै १२ कक्षा पास गरेको कुनै पनि विद्यार्थी बेरोजगार बन्न नपर्नेगरी सैद्धान्तिक एवम् व्यावहारिक पक्षबीच सन्तुलन हुनेगरी पाठ्यक्रममा आमूल परिवर्तन गरिने उसले उल्लेख गरेको छ।

नेकपा एमालेको चुनावी घोषणापत्र
आगामी मंसिर चार गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि आफ्नो चुनावी घोशापत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।

पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिँदै एमालेले राष्ट्रिय हित स्वाधीनताको रक्षामा जोड दिएको छ । घोषणापत्रमा कुल २० हजार शब्द रहेको छ । एमालेले श्रव्य दृश्यका माध्यमबाट आफ्नो दलले गर्ने काम कारबाहीका बारेमा जानकारी दिएको छ । घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रस्ट्याउने प्रयास गरिएको बताइएको छ । घोषणापत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । ५ वर्षमा गरिछाड्ने २० काम र २४७ प्राथमिकतालाई पनि एमालेले घोषणापत्रमा सूचीवद्ध गरेको छ ।

त्यस्तै घोषणापत्रमा पार्टीले मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । एमालेले आफ्नो घोषणापत्र कार्यान्वयन हुने २० वटा आधार पनि प्रस्तुत गरेको थियो । घोषणापत्र सार्वजनिकपछि अध्यक्ष ओलीसँग लाइभ डिबेट गरिएको छ । यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन बाध्यात्मक भएको बताएका छन् ।

यस्तै पार्टीले आगामी पाँच वर्षभित्र विद्युत् उत्पादन क्षमता छ हजार पाँच सय मेगावाट बराबर पुर्याउने लक्ष्य रहेको घोषणापत्रमा उलेख छ । ‘सबैलाई बिजुली बत्ती, विद्युतबाटै देशको उन्नति’ भन्ने नारा दिएको सो दलले आगामी दुई वर्षभित्र विद्युतमा पहुँच हुने जनसङ्ख्या शतप्रतिशत पुर्याउने योजना अगाडि सारेको हो ।

सबै परिवारलाई गार्हस्थ्य उपभोगका लागि वर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा ३० युनिट विद्युत् निःशुल्क उपलब्ध गराउने विषयलाई सो दलले घोषणापत्रमा समावेश गरेको छ । त्यस्तै, प्रतिव्यक्ति विद्युत् खपत सात सय किलोवाट प्रतिघण्टा पुर्याउने लक्ष्य राखेको छ ।

स्वदेशी कच्चा पदार्थमा आधारित र आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुको उत्पादनमा जोड दिने सो पार्टीको दाबी छ । स्वदेशमा उत्पादन हुने खाद्यवस्तु, जुत्ता, औषधि, सिमेन्टजस्ता वस्तुको उपयोगमा प्रोत्साहन गर्ने, सहकारी तथा निजी क्षेत्रलाई कर, विद्युत् महसुल तथा ऋणमा उपयुक्त ब्याज अनुदान दिने विषयलाई घोषणापत्रमा समावेश गरिएको छ ।

समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने, राष्ट्रहित र नागरिक हितलाई सर्वोपरी राखी राज्य सञ्चालन गर्ने बताएको उक्त पार्टीले ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’को नीति कार्यान्वयन गर्ने दावी गरेको छ । ‘स्वच्छ पानी, सफा वातावरण, खेत बारीमा पानी, दोब्बर हुन्छ उब्जनी’ भन्ने नारा दिएको एमालेले सिँचाइका लागि वर्षायाममा बिजुली महसुलमा ५० प्रतिशत र हिउँदमा २५ प्रतिशत छुट दिने योजना रहेको बताएको छ ।

आगामी तीन वर्षमा सतह तथा भूमिगत सिँचाइबाट तराई मधेशमा थप तीन लाख हेक्टर जमिन सिञ्चित गर्ने, वैदेशिक रोजगारीमा फर्केका नेपालीलाई ऋण तथा सहुलियतका योजना ल्याउने सो पार्टीको दावी छ ।

यसैगरी एमालेले घोषणापत्रमा आगामी ५ वर्षमा नेपालको अर्थतन्त्रको आकार १०० खर्ब पुर्‍याउने र प्रतिव्यक्ति आय पनि अहिलेको दोब्बर बनाउने उल्लेख छ । त्यसैगरी एमालेले ५ वर्षमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या वार्षिक २५ लाख पुर्‍याउने र नेपालको प्रतिव्यक्ति आय २४ सय डलर अर्थात ३ लाख रुपैयाँ पुर्‍याउने पनि घोषणा गरेको छ ।

अघिल्लो निर्वाचनमा एमालेले घोषणा गरेको रसुवागढी–काठमाडौं र वीरगञ्ज–काठमाडौं रेलमार्गको निर्माण थाल्ने घोषणा गरेको छ ।आगामी छ वर्षमा भने एमालेले निर्माणाधिन पूर्व–पश्चिम विद्युतीय रेलमार्गको बर्दिबास–निजगढ रेलमार्गको निर्माण सम्पन्न गरी रेल नै सञ्चालनमा ल्याउने बताएको छ ।

त्यसैगरी एमालेको घोषणापत्रमा निजगढ–बुटवल खण्डको निर्माण थाल्ने र बाँकी भागको जग्गा अधिग्रहण थालिने समेत उल्लेख छ । सबै महानगर, काठमाडौंमा मेट्रो रेल, सहरी केवलकार र पड वे जस्ता आधुनिक परिवहन सेवा सञ्चालनका लागि आवश्यक अध्ययन गरी कार्यान्वयन गर्ने समेत एमालेको भनाइ छ । त्यस्तै नेपालको आफ्नै पानीजहाज चलाउने घोषणा पुनः दोहोर्‍याएको छ । नेपालका प्रमुख नदी हुँदै गंगाबाट कलकत्ता बन्दरगाह र समुद्रसम्मको जल यातायात सञ्चालन गर्ने समेत एमालेको घोषणा छ ।

‘राष्ट्र निर्माणको आधार, गुणस्तरीय शैक्षिक पूर्वधार’ भन्ने मूल नाराका साथ एमालेले शिक्षालाई घोषणापत्रमा प्राथमिकताका साथ उल्लेख गरेको छ । ‘सम्पूर्ण बालबालिकालाई शिक्षाको अवसर सुनिश्चित गरिने छ । कुनै पनि बालबालिका आर्थिक दुरावस्थाका कारण विद्यालय जानबाट बञ्चित हुने वा बीचैमा पढाइ छोड्नुपर्ने अवस्था अन्त्य गरिनेछ । प्रारम्भिक बालविकास कार्यक्रमदेखि माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क र अनिवार्य गरिने छ,’ एमालेको घोषणा पत्रमा उल्लेख छ।

नेकपा एकीकृत समाजवादीको चुनावी घोषणापत्र
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको को लागि नेकपा एकीकृत समाजवादी पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । गत सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा महासचिव डा बेदुराम भुसाललगायतका नेताले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा एकीकृत समाजवादीले पूर्वदेखि पश्चिमसम्म मेगा नहर बनाउनेदेखि वर्तमान निर्वाचन प्रणाली अन्त्यन्त खर्चिलो भएको भन्दै सुधारका लागि जोड दिइएको छ । त्यस्तै पार्टीले विदेशबाट फर्केका युवालाई कृषि पेशामा आकर्षित गर्न १० लाखसम्म निर्ब्याजी ऋण दिने व्यवस्था गर्न अभियान नै सञ्चालन गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

यस्तै घोषणापत्रमा ओली सरकारले जनअपेक्षा र निर्वाचनको बेला जनतासमक्ष गरेको प्रतिबद्धताअनुसार काम नगरेको जनाएको छ । त्यसैगरी पार्टीले आर्थिक क्षेत्रमा उल्लेख्य प्रगति गर्न नसक्नुको एउटा प्रमुख कारण भ्रष्टाचार भएको ठहर गरेको छ । घोषणापत्रमा ‘सिँचाइमा लगानी : कृषियोग्य जमिनमा पानी’ को नारा दिँदै पूर्वदेखि पश्चिमसम्मका नदी जोड्ने महत्त्वाकांक्षी योजना राखेको छ । ‘नेपालको पानी, नेपालमै’ भन्ने अवधारणा अघि सार्दै उसले सबै नदी एकअर्कासँग जोडेर पूर्व पश्चिम मेगा नहर राष्ट्रिय गौरवको आयोजना बनाउन पहल गरिने घोषणापत्रमा उल्लेख गरेको छ । पार्टीले सार्वजनिक सेवा प्रवाहमा सुधार, उद्योग धन्दाको विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र सिंचाइमा जोड दिएको छ ।

त्यस्तै माध्यमिक तहसम्मको सम्पूर्ण शिक्षा अनिवार्य र निःशुल्क गर्न पहल गर्ने कुरामा जोड दिँदै उसले शिक्षाको उज्यालोबाट कोही पनि बञ्चित हुनुनपर्ने अवस्था सिर्जना गर्न पहल गरिने उल्लेख गरेको छ । सामुदायिक विद्यालयको पढाइको स्तर निजीकोे भन्दा राम्रो बनाउन पहल गरिनुका साथै गैरप्राविधिक विषयमा ३० प्रतिशत र व्यावसायिक तथा प्राविधिक विषयमा ७० प्रतिशत जनशक्ति उत्पादन गर्नेगरी शिक्षा नीति परिवर्तन गर्न पहल गरिने एकीकृत समाजवादीले प्रतिबद्धता व्यक्त गरेको छ।

राप्रपाको चुनावी घोषणापत्र
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी घोषणापत्र सार्वजिक गरेको छ । गत सोमबार एक कार्यक्रमको आयोजना गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।

‘दीर्घकालीन सोच, दीर्घकालीन राष्ट्रिय लक्ष्य, दीर्घकालीन मार्गचित्र’ प्रमुख नारा बनाएको राप्रपाले दीर्घकालीन राष्ट्रिय रणनीतिमा दिगो आर्थिक वृद्धि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा, सुशासनतर्फ बरु नष्ट हुने तर भ्रष्ट नहुने प्रतिबद्धता घोषणापत्रमा उल्लेख छ । घोषणापत्रमा अभिभावकीय संस्थाका रुपमा राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने उल्लेख छ । त्यस्तै राप्रपाले एक व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टीको अध्यक्ष र प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने कानुन बनाउने भएको छ ।

राप्रपाले प्रदेश संरचना खारेजी र राजसंस्थालाई शिरमा राखेर चुनावी घोषणापत्र ल्याएको छ । राप्रपाले घोषणापत्रमा प्रदेश खारेजी, संघीय र स्थानीय तहलाई बलियो पार्नुपर्ने र प्रदेश संरचना खारेज गर्नुपर्ने मुद्दालाई अगाडि सारिएको छ । यस्तै देशको अभिभावकका रूपमा राष्ट्रपतिको सट्टा राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद् र हिन्दु राष्ट्र राप्रपाका प्रमुख एजेण्डा रहेका छन् ।

राप्रपाले नेपाल बन्द जस्तो कार्यक्रम कहिल्यै नगर्ने प्रतिवद्धता गर्दै उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था, नेपालको भूभाग कसैका विरुद्ध प्रयोग गर्न नदिनेलगायतका विशेषता घोषणापत्रमा समेटिएका छन् । यस्तै पार्टीले ‘शिक्षा, स्वास्थ्य र न्याय – निःशुल्क तथा समान’ भन्ने मूल नाराका साथ शिक्षालाई समेटेको छ।

काठमाडौंको बूढानिलकण्ठ स्कुललाई सातै प्रदेशमा नमुना विद्यालयको रुपमा स्थापना गर्ने राप्रपाले घोषणापत्रमा उल्लेख गरेको छ। साथै, प्राविधिक विद्यालयहरूलाई स्रोतसाधानयुक्त बनाइने, आधारभूत तहमा स्थानीय मातृभाषा शिक्षा लागु गर्ने र कक्षा १२ सम्म पूर्णरुपमा निःशुल्क र गुणस्तरीय शिक्षाको संवैधानिक व्यवस्थालाई पूर्णतः लागू गर्ने घोषणापत्रमा उल्लेख छ ।

नेपाल समाजवादी पार्टीको चुनावी घोषणापत्र
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि नेपाल समाजवादी पार्टी (नेसपा)ले घोषणापत्र सार्वजनिक गरेको छ । नेसपाले संविधान संशोधन, आर्थिक, सामाजिक, परराष्ट्र, कृषि, रोजगार लगायतका विषय समेटिएको घोषणापत्र सार्वजनिक गरेको हो ।

संविधान संशोधनलगायतका माध्यमबाट देशको राजनीतिक र आर्थिक रूपान्तरण गर्न सकिने, भ्रष्टाचार अन्त्य गर्नका लागि जनलोकपालदेखि कर्मचारीतन्त्रको रुपान्तरणसम्मका योजना नेसपाले घोषणापत्रमा उल्लेख छ । पार्टीले देशको आर्थिक विकासका लागि ‘समतामूलक समृद्धि’को अवधारणा अगाडि सारेको छ । भ्रष्टाचार अन्त्य गर्नका लागि सदाचार ऐनको व्यवस्था, जनलोकपाल गठन, संवैधानिक आयोग, विश्वविद्यालय तथा प्रतिष्ठानहरूको पदाधिकारीहरूको नियुक्तिमा दलीय भागबन्डाको अन्त्य, राष्ट्रिय योजना आयोगको पुनःसंचरना, नीति अनुसन्धान प्रतिष्ठानको सवलीकरण, निजामती सेवा प्रणालीको रूपान्तरण गरिने लगायतका विषय पार्टीको घोषणापत्रमा उल्लेख छ ।

नेपाली कांग्रेसको चुनावी घोषणापत्रको पूर्णपाठ

नेकपा माओवादीको चुनावी घोषणापत्रको पूर्णपाठ

नेकपा एमालेको चुनावी घोषणापत्रको पूर्णपाठ

नेकपा एकीकृत समाजवादीको चुनावी घोषणापत्रको पूर्णपाठ

राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी घोषणापत्रको पूर्णपाठ

नेपाल समाजवादी पार्टीको चुनावी घोषणापत्रको पूर्णपाठ

सम्बन्धित समाचार