एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा न्यौपानेको पुनर्नियुक्ति

एनआईसी एशिया बैंक लिमिटेडको २०७९ कात्र्तिक १६ मा बसेको सञ्चालक समितिको ५७३ औं बैंठकले रोशनकुमार न्यौपानेलाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनर्नियुक्त गरेको छ । बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत न्यौपानेलाई बैंकको सञ्चालक समितिले मिति २०७९ मंसिर १५ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतको पदमा थप ४ वर्षको अवधिको लागि पुनर्नियुक्ति गर्ने निर्णय गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सन् २००८ अप्रिलदेखि तत्कालीन बैैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत बनेका थिए । सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हालेपछि छोटो अवधिमा नै बैंकले विविध सूचांकहरुमा उत्साहजनक व्यवसायिक उचाइ हासिल गरेपछि बैंक सञ्चालक समितिको मिति २०७५ मंसिर १६ को ३७९ औं बैंठकले न्यौपानेलाई मिति २०७५ मंसिर १६ गतेदेखि लागु हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।



३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनी मुलुकको सबैभन्दा ‘कान्छो सीईओ’ को रुपमा समेत चर्चित भए । रसुवा जिल्ला स्थायी घर भई हाल काठमाडौं बुढानीलकण्ठ बस्ने ४२ वर्षीय न्यौपानेले छोटो समयमा नै बैंकिङ्ग क्षेत्रमा उदाहरणीय क्षमता प्रदर्शन गर्न सफल भएका छन् ।

विज्ञप्तिमा अगाडि भनिएको छ– बैंकको नेतृत्वदायी भूमिकामा आएपछि न्यौपानेले उदाहरणीय लगन, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्दैगर्दा एनआसी एशिया बैंक अधिकांश वित्तीय सूचकांकहरुमा पहिलो नम्बरमा पुगेको छ । बैंकले चालू आव २०७९÷८० को प्रथम त्रैमासमा खुद नाफा, ग्राहक संख्या, स्व–पूँजीमा प्रतिफल, प्रतिशेयर आम्दानी, शाखा कार्यालयहरु, एटिएम, विस्तारित काउन्टर लगायतका सूचकमा नम्बर एक स्थान हासिल गर्न सफल भएको छ ।

चालू आवको पहिलो त्रैमासमा खुद मुनाफातर्फ १.७५ अर्ब आर्जन गर्दै सबैभन्दा धेरै खुद मुनाफा आर्जन गर्ने वाणिज्य बैंक बन्न सफल भएको छ, जुन मुनाफा वार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतको वृद्धि हो । त्यसैगरी स्व–पूँजीमा प्रतिफल २६.५५ प्रतिशत र वार्षिक प्रति शेयर आम्दानी रू. ५९.६२ आर्जन गर्न बैंक सफल भएको छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो । चालू आ.व. २०७९÷८० को प्रथम त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २७३.१० अर्ब र निक्षेपतर्फ कुल निक्षेप संकलन ३०८.१८ अर्ब पुर्याउन सफल भएको पनि उल्लेख छ ।

सम्बन्धित समाचार