शिवराज श्रेष्ठसँग निहारिका राजपुतका छोराको डीएनए मिलेपछि…

निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मिलेको छ । खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा राजपुतका छोराको डीएनए श्रेष्ठसँग मिलेको हो ।

यसअघि उच्च अदालत, जनकपुरले बालक र आरोपित श्रेष्ठको डीएनए परीक्षणको आदेश दिएको थियो । निहारिकाको मागबमोजिम अदालतले दुवैको डीएनए परीक्षण गराउने आदेश दिएको थियो । निहारिकाले श्रेष्ठले आफूमाथि जबर्जस्ती करणी गरी बालकको जायजन्म भएको माग गर्दै आएकी थिइन् भने आरोपित श्रेष्ठले आफूहरूबीच माया–प्रेम रहेको र सोही समयमा सहमतिमै यौन सम्बन्ध भएको बताएका थिए ।



निहारिकाले लामो समयदेखि आफ्नो छोराको अधिकारका लागि डीएनए परीक्षण माग गर्दै आएकी थिइन् । जिल्ला अदालत धनुषाले आरोपित शिवराजलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि निहारिकाले उच्च अदालतमा पुनरावेदन गरेकी थिईन् । गत माघ २४ गते जिल्ला अदालतको न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले शिवराजलाई सफाइ दिएको थियो ।

सरकारी वकिल कार्यालय एवं जाहेरीवालाको तर्फबाट योदुनाथ शर्मा, मीरा ढुङ्गाना, वरिष्ठ अधिवक्ता सुनिता रेग्मी, शान्ति काफ्ले र रिङ्कुकुमारी यादवले बहस गरेका थिए । प्रतिवादी शिवराज श्रेष्ठको तर्फबाट श्याम मिश्रले बहस गरेका थिए। निहारिकाको नामबाट २०७६ माघ १९ गते ‘नारी अस्मिताको रक्षा गरी जीवनरक्षा गरी पाउँ’ र सोही वर्ष फागुन ११ गते ‘हकअधिकार दिलाइ पाउँ’ भनी जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन परेको थियो ।

निवेदनमा जाहेरीवाला र प्रतिवादी श्रीमान श्रीमती भनी उल्लेख थियो । सोही आधारमा जिल्ला अदालत धनुषाले २०७८ माघ २४ गते जबर्जस्ती करणी नभएको फैसला सुनाएको थियो । जिल्ला अदालतको फैसलाबाट चित्त नबुझेको भन्दै निहारिकाले २०७८ फागुनमा उच्च अदालत जनकपुरमा पुनरावेदन दिएकी थिइन् । उच्च अदालतले तोकिएको पेसी सुनुवाइ नगरेको र प्रतिवादीसँग अदालत मिलेको भन्दै निहारिकाले काठमाडौँमा दोस्रोपटक आमरण अनशन सुरु गरेकी थिइन् । अनशनकै क्रममा निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि मुद्दा फास्ट्र्याकमा अघि बढेको थियो ।

 

 

सम्बन्धित समाचार