गजलसङ्ग्रह सुनको अक्षर लोकार्पण

गजलकार पुरुषोत्तम पौडेल ‘रसुवा’को दोस्रो गजलसङ्ग्रह ‘सुनको अक्षर’ शनिवार राजधानीको बालाजुस्थित एसएस कलेजको प्राङ्गणमा आयोजित एक समारोहमा विमोचन गरियो ।

विमोचन कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै प्राज्ञ तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव प्रा. जगत् प्रेक्षितले रसुवाका गजलले समाजको आवाज बोलेको बताए । उनले जीवनको लयलाई सचेत ढङ्गले पक्रेको दाबी गर्दै रसुवालाई एउटा अनन्त सम्भावना रहेका गजलकारका रूपमा चित्रण गरे । लेखकले सधैँ जीवनबोधी सिर्जनामा आफूलाई समर्पित गर्नुपर्ने जिकिर गर्दै उनले पुस्तकका प्राविधिक पक्षलाईसमेत ध्यान दिनुपर्ने राय व्यक्त गरे ।



कार्यक्रममा अर्का अतिथि प्रकाशपुञ्जले आफूले रसुवालाई मिहिनरूपमा चिनेको भन्दै उनको सिर्जनात्मक क्षमताको खुलेर प्रशंसा गरे । चर्चित गजलकार तथा कवि बाबु त्रिपाठीले आफूले रसुवाका गजल तीन महिनाअघिदेखि अध्ययन गरेको बताउँदै उनका गजलले अझै बढी सामाजिक परिवेश बोल्नुपर्ने धारणा राखे । मायाप्रीतिका शृङ्गारिक गजलको बाढी नै आएको दाबी गर्दै उनले अबका गजलमा समकालीन समाजका तमाम मुद्दा अभिलेखीकरण हुनुपर्ने अभिमत राखे । यसका निम्ति रसुवा एक सत्पात्र बन्न सक्ने उनको विचार थियो ।

कार्यक्रममा गजलकार पुरुषोत्तम रसुवाले रचनागर्भबारे सङ्क्षिप्त मन्तव्य दिँदै सङ्ग्रहभित्र समेटिएका गजलका केही सेर वाचन गरेका थिए भने अर्का गजलकार दीप्तप्रकाश अधिकारीले रसुवाका केही सेर गजल वाचन गरेका थिए ।

पुस्तक लोकार्पण कार्यक्रममा उपस्थित पाहुनाहरूलाई मुक्तक प्रतिष्ठान नेपालका अध्यक्ष तथा त्रिशूली वाङ्मयका कावा महासचिव राजेन्द्र घिमिरे सागरले स्वागत गरेका थिए भने सङ्गीतकार तथा म्युजिक भिडियो निर्माता बादल घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए ।

सम्बन्धित समाचार