प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन : कसको पल्ला भारी ?

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै देशभर चुनावी सरगर्मी बढेको छ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु चुनावी एजेण्डा लिएर मतदाताका घरदैलोमा पुगिरहेका छन् । आगामी निर्वाचनमा मुख्य प्रतिस्पर्धा ठूला राजनीतिक दलबीच नै हुने देखिन्छ । यद्यपि स्वतन्त्र रूपमा उम्मेदवारी दिनेको सङ्ख्या पनि कम छैन । प्राय: सबै राजनीतिक दलहरुले विभिन्न योजनाहरु समेट्दै आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । तर, उनीहरुले ल्याएको एजेण्डा कार्यान्वयन हुनेमा जनताहरु त्यति आशावादी देखिएका छैनन् ।

स्थानीय तहको निर्वाचनमा पाँचदलीय सत्ता गठबन्धन दलहरुले गठबन्धन गरेपछि उनीहरुले सोचे अनुरुप नतिजा ल्याएका थिए । त्यसो त मुख्य प्रतिपक्षी दल नेकपा एमालेले पनि आफ्नो विरासत जोगाउन र निर्वाचनमा आफ्नो पल्ला भारी पार्न विभिन्न राजनीतिक दलहरुसँग चुनावी तालमेल समेत गरेको छ । तर प्रजातान्त्रिक शासन व्यवस्थामा स्वतन्त्ररुपमा समेत उम्मेदवारी दिन कसैलाई पनि रोक नलगाएकाले यसपटकको निर्वाचनमा ‘स्वतन्त्र उम्मेदवार’हरुको पल्ला भारी हुन सक्नेछ।



वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा धरानबाट हर्क साम्पाङ, राजधानी काठमाडौँमा बालेन शाह र धनगढीबाट गोपाल हमाललगायतका स्वतन्त्र उम्मेदवारहरुको आकर्षक जीत नै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको सङ्ख्या बढाउन सहयोगी बनेको छ । राजनीतिक दलहरुप्रतिको अविश्वास, गठबन्धनका कारण असन्तुष्ट मतदाता र कार्यकर्ता र स्थानीय तहमा मतदाताले स्वतन्त्र उम्मेदवारप्रति देखाएको लगावकै लोभमा आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको सङ्ख्या उल्लेख्य बढेको विश्लेषकहरुको भनाइ छ ।

सत्ता गठबन्धनको पल्ला भारी
स्थानीय तह निर्वाचनमा तालमेल गरेर निर्वाचनमा होमिएको पाँच दलीय गठबन्धनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि गठबन्धन गरेर जाने निर्णय गर्दै सोही सहमतीका आधारमा चारदलीय गठबन्धन गरेर निर्वाचनमा होमिएका छन् । सत्ता गठबन्धनका केही स्थानमा मित्रवत प्रतिस्पर्धा हुने पनि जनाएको हुनाले आसन्न निर्वाचनमा पनि गठबन्धको पल्ला भारी हुने अनुमान लगाउन सकिन्छ ।

स्थानीय तह निर्वाचनमा चुनावी तालमेलपछि आएको परिणामबाट सत्ता गठबन्धन आबद्ध दलहरू हौसिएका थिए । सत्ता गठबन्धनमा आवद्ध शीर्ष नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय गरेका थिए । गठबन्धनमा सत्तारूढ नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चा रहेकामा आसन्न निर्वाचनमा भने जनता समाजवादी पार्टी नेपाल (जसपा) अलग्गिएपछि हाल लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) गठबन्धनमा समावेश भएको छ ।

सत्ता गठबन्धनसँग डटेर लड्ने योजनमा एमाले
स्थानीय तहको निर्वाचनमा सोचेअनुरुप नतिजा नआएपछि नेकपा एमाले आसन्न निर्वाचनमा पनि विभिन्न दलहरूसँग चुनावी गठबन्धन गरेको छ । गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नका लागि र आसन्न निर्वाचनमा पनि बहुमत ल्याउन एमाले पनि विभिन्न साना दलहरुसँग तालमेल गरेको हो ।

एमालेले आगामी निर्वाचनमा लागि जनता समाजवादी पार्टी नेपाल (जसपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) सहितका दलसँग चुनावी गठबन्धन गरेको छ । यस्तोमा आगामी निर्वाचनमा सत्ता गठबन्धन र एमाले गठबन्धनबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने बताउँदै आएका छन् । उनले एमाले देशका लागि काम गर्ने पार्टी भएको दाबी गरेका छन् ।

एमालेलाई भय भने सत्ता गठबन्धनकै
पार्टी अध्यक्ष ओलीले एमालेले बहुमत ल्याउने उद्घोष गरेपनि आगामी संघीय निर्वाचनमा नेकपा एमालेलाई पाँच दलीय गठबन्धनको भय भने रहेको छ । अघिल्लो निर्वाचनमा पहिलो पार्टी बनेको एमालेलाई यसपाली भने कसरी निर्वाचनमा जाने भन्ने विषयमा चिन्ताले सताएको छ । अघिल्लो निर्वाचनमा विजयी भएको स्थानमा पनि एमालेलाई गठबन्धनको सामना गर्नु पर्नेछ र गठबन्धनको अगाडी विजयी हात पार्न एमालेलाई भने त्यति सहज हुनेछैन ।

स्वतन्त्रको सम्भावना बलियो
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवाररु चुनावी अभियानमा तीव्रता दिइरहेका छन् । यसैबीचमा आसन्न निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारहरुले आफ्नो दबदबा प्रस्तुत गर्न सक्ने अनुमान लगाउन सकिन्छ । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारहरुले देशका ठूला मानिएका राजनीतिक दलका उम्मेदवारहरुलाई सहजै पराजित गरेसँगै आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि स्वन्त्रन्त्र उम्मेदवारहरू राजनीतिक दलको लागि टाउको दुखाईको विषय बनेका छन् ।

स्वतन्त्रबाट कतिले दिए उम्मेदवारी ?
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ९४३ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा ८५ जना महिला र ८५८ जना पुरुष रहेका छन् । ठूला राजनीतिक दलका नेताहरुले जनताको माग सम्बोधन गर्न नसक्दा संघीयता कार्यान्वयनपछि दोस्रोपटक मंसिर ४ मा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ एक तिहाइ स्वतन्त्र उम्मेदवार चुनाव भिड्दैछन् । चुनावी मैदानमा स्वतन्त्रबाट युवा उम्मेदवार ३६ प्रतिशत छन् । देशभरिबाट प्रतिनिधिसभाका लागि कूल उम्मेदवारको एक तिहाइ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

अन्य दलको दाबी पनि उतिक्कै
आसन्न निर्वाचनमा देशका ठूला मानिएका राजनीतिक दलले आ-आफ्नो दाबी गरे पनि स(साना राजनीतिक दलले पनि आसन्न निर्वाचनमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जनतको मन जित्ने अपेक्षा गर्न सकिन्छ । राप्रपा हिन्दू राष्ट्र र राजतन्त्रको मूल राष्ट्रिय मुद्दाका साथ अघि बढिरहेको छ ।‘कुशासनको अन्त्य गरेर भ्रष्टाचारमुक्त नेपाल बनाउने एजेण्डा राप्रपाको हो’, भनेर अध्यक्ष राजेन्द्र लिङ्देनलर उद्घोष गरेका छन् । मुलुकमा यथास्थितिको अन्त्य चाहने पक्षले आफूलाई मत दिने उनको भनाइ छ । जनताको साथ र विश्वास नै आफ्नो जितको मुख्य आधार रहेको उनी बताउँछन् ।

त्यस्तै मधेश प्रदेशमा भने लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवारहरुले आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

 

 

सम्बन्धित समाचार