नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ कार्तिक ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका-२५ स्थित टहरोमा सोही ठाउँ बस्ने ५४ वर्षीय चित्रमणी पौडेल बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै बझाङ, सुर्मा गाउँपालिका-२ घोगाड बस्ने ४५ वर्षीय बिक्रम बोहरा सोही ठाउँस्थित मेडिखान भन्ने स्थानमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । बुधबार साँझ घरबाट गाँउतिर घुम्न जान्छु भनि हिँडेका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।
त्यसैगरी रोल्पा, रोल्पा नगरपालिका-६ धावाङस्थित माडी खोलामा सोही नगरपालिका-७ चिवाङ बस्ने २७ वर्षीय कमल घर्तिमगर बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी रोल्पा, सुनिलस्मृती गाउँपालिका-२ लामाचौरस्थित माडी खोलामा हाल नाम, थर, वतन नखुलेकी करिब ३० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
यस्तै काठमाडौं महानगरपालिका-१६ बालाजु बसन्तनगर गुम्बा मन्दिर नजिक मानिस बस्न बनाइएको बेन्चमा हाल नाम, थर, वतन नखुलेका करिब २६ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता कैलाली, टिकापुर नगरपालिका-६ सत्ती कर्णाली सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यता सिरहा, मिर्चैया नगरपालिका-११ कंचनपुर बस्ने ५५ वर्षीय गुरुदयाल मण्डल आफ्नै घरबाट करिब २५ मिटर टाढा बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै बारा, निजगढ नगरपालिका-४ बस्ने ५५ वर्षीय सन्त बहादुर खतिवडाको सोही नगरपालिका-४ मुलडाँडास्थित भिरबाट लडेर मृत्यु भएको अवस्थामा बिहीबार शव फेला परेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

