कुवेतमा अलपत्र ७ नेपाली कामदारको उद्धार

वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका ७ नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ । नेपालबाट कामदार भिसामा कुवेत गएका उनीहरूलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ ।

अलपत्र परेका उनीहरूलाई धर्म ओभरसिज प्रालि र सञ्चारकर्मी जीवन शर्माको पहलमा गए राति स्वदेश ल्याइएको हो । उद्धार गरेर ल्याइएकाहरूमा विवेकराज यादव, एकवाल जोल्हा, इज्हार जोल्हा, हसनराज जोल्हा, निर्मल नेपाली, गणेश कुमाल र भीमप्रसाद राजवंशी छन् ।



सम्झौताअनुसार तलब र सेवा सुविधा नपाएका उनीहरूलाई कुवेतस्थित रोजगारदाता कम्पनी ग्लोबल टाइम्स कुवेत र कुवेतस्थित नेपाली दूतावासमा पटक–पटक ताकेता गर्दा पनि पहल हुन नसकेको धर्म ओभरसिजले जनाएको छ । सातैजनालाई हाल चाबहिलस्थित पासा होटलमा राखिएको छ । सम्बन्धित मेनपावरले उनीहरूको पैसा फिर्ता गरेपछि आफन्तको जिम्मा लगाइने बताइएको छ ।

सम्बन्धित समाचार