टी-२० विश्वकप क्रिकेटको उपाधि इंग्ल्यान्डलाई

पाकिस्तान ५ विकेटले पराजित

आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको उपाधि इंग्ल्यान्डले जितेको छ । आइतबार भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इंग्ल्यान्डले उपाधि जितेको हो ।

अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । पाकिस्तानका लागि शान मसुदले ३८ रन बनाए भने कप्तान बाबर आजमले ३२ रन जोडे । त्यस्तै शादब खानले २० रन बनाई आउट भए भने मोहमद रिजवानले १५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । इंग्ल्यान्डका लागि साम करनले ३ विकेट लिए भने
क्रिस जोर्डन र आदील राशिदले समान २-२ विकेट लिँदा बेन स्टोक्सको भागमा १ विकेट रह्यो ।



१३८ रनको लक्ष्य लिएर मैदान उत्रेको इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डका लागि बेन स्टोक्सले अविजित रहँदै ५२ रनको अर्धशतकीय पारी खेले भने कप्तान जस बटलरले २६ रन बनाए । यस्तै ह्यारी ब्रुक २० रन बनाई आउट भए भने मोईन अलीले १९ र फिल साल्टले १० रन जोडे । पाकिस्तानको लागि ह्यारिस रौफले २ विकेट लिए भने शादब खान र शाहिन सहन अफ्रिदीको भागमा समान १-१ विकेट रह्यो ।

इंग्ल्यान्डले पाकिस्तानलाई हराएसँगै दोस्रो पटक च्याम्पियन बनेको छ । यसअघि वेस्टइन्डिजले मात्र दुई पटक टी-२० पुरुष विश्वकप क्रिकेटको उपाधि जितेको थियो । इंग्ल्यान्डले पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले, दोस्रो खेलमा आयरल्याण्डसँग डीएल मेथड अनुसार ५ रनले पराजित भएको थियो ।

त्यस्तै तेस्रो खेल वर्षाका कारण नभएपछि इंग्ल्यान्डले अष्ट्रेलियासँग अंक बाँडेको थियो भने चौथो खेलमा न्युजिल्यान्डलाई २० रनले पराजित गरेको इंग्ल्यान्डले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ४ विकेटले हराएको थियो । सेमिफाइनलमा इंग्ल्यान्डले भारतलाई १० विकेटले पराजित गरेको थियो । या पाकिस्तान भने पहिलो खेलमा भारतसँग ४ विकेटले, दोस्रो खेलमा जिम्बावेसँग एक रनले पराजित हुँदा, तेस्रो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेट तथा महत्वपूर्ण मानिएको चौथो खेलमा दक्षिण अफ्रिकालाई डीएल मेथड अनुसार ३३ रनले पराजित गरेको हो ।

यस्तै समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई पाँच विकेटले हराउँदै पाकिस्तानले सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनलमा पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरेको हो।

 

सम्बन्धित समाचार