पहिलो एकदिवसीय खेलमा युएई विजयी

नेपाल ८४ रनले पराजित

नेपाल र युएईविरुद्धको तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा युएई विजयी भएको छ । सोमबार भएको खेलमा नेपाल युएईसँग ८४ रनले पराजित भएको हो ।

काठमाडौँको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रन बनाएको थियो । युएईका लागि रोहन मुस्तफाले ५३ रनको अर्धशतकीय पारी खेले भने मुहमद वासिमले ४४ रन बनाए । त्यस्तै भ्रित्य अरभिन्दले ४० रन बनाई आउट भए भने अलिशन शाराफुले २९ रन जोड्दा भने अहमेद राजा २७ रनमा अविजित रहे । नेपालका लागि गुलशन झाले २ विकेट लिए भने सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीको भागमा समान १-१ विकेट रह्यो ।



२६४ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन मात्र बनाउन सक्यो । नेपालको लागि अर्जुन साउद र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । अर्जुनले एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु खेलमै अर्जुनले ५१ रन बनाए भने दीपेन्द्रले ५४ रन जोडे । यस्तै गुलशन झा १९ रनमा अविजित रहँदा आसिफ शेखले १२ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । युएईका आयन अफ्जल खानले ४ विकेट लिए भने बसिल हामिदले २ विकेट लिँदा जाहोर खान, रोहन मुस्तफा र अहमेद राजाको भागमा समान १-१ विकेट रह्यो ।

जितसँगै युएईले तीन खेलको एकदिवसीय सिरिजमा १-० को अग्रता बनाएको छ । अब नेपालले दोस्रो एकदिवसीय खेल कार्तिक ३० मा र तेस्रो एकदिवसीय मंसिर २ मा खेल्नेछ ।

सम्बन्धित समाचार