नक्कली सुन धितो राखी बैंकबाट कर्जा लिएको आरोपमा सुनार पक्राउ

नक्कली सुन धितो राखी कर्जा लिई ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । विभिन्न मितिमा नक्कली सुनका गहनाहरू धितो राखेर २४ लाख ५ हजार रुपैयाँ कर्जा लिई ठगी गरेको अभियोगमा पर्वत कुश्मा नगरपालिका-३ घर भई पोखरा महानगरपालिका-१८ सराङकोट बस्ने २५ वर्षीय अभिषेक सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

सुनारले राष्ट्रिय वाणिज्य बैंकको पोखरा महानगरपालिका-१७ बिरौटा शाखाबाट १६ लाख ६० हजार रुपैयाँ र सोही महानगरपालिका-८ पृथ्वीचोक शाखाबाट ७ लाख ४५ हजार रुपैयाँ गरी जम्मा २४ लाख ५ हजार रुपैयाँ कर्जा लिई लामो समयसम्म कर्जाको साँवाव्याज बुझाउन नआएपछि धितोको गहना जाँच गर्दा कमसल सुन प्रयोग गरी तयार गरिएको खुल्न आएपश्चात प्रहरीले उनलाई पक्राउ गरेको हो ।



साथै धितो राखेका उक्त गहनाहरू नक्कली सुनबाट तयार गरिएको अनुसन्धानबाट खुल्न आएको छ । उनी उपर जिल्ला अदालत कास्कीबाट ठगी, आपराधिक विश्वास घात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार