नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ कार्तिक ।

जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । १० वर्षीया र ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर गोदावारी नगरपालिका-३ नहर बस्ने १९ वर्षीय पर्वत विश्वकर्मा र १९ वर्षीय मदन विश्वकर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले दुवै जना बालिकालाई शुक्रबार दिउँसो आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी प्राप्त हुनासाथ प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । त्यस्तै एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भारत मोतिहारी पताही थाना देवापुर-९ लसनिया घर भइ काठमाडौं महानगरपालिका-१२ भोटेवहाल बस्ने २० वर्षीय रेहान शेखलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई ललितपुर जावलाखेलस्थित नमस्ते सुविधा गेष्ट हाउसको अगाडि रोइरहेको अवस्थामा गस्तीमा रहेको प्रहरीले फेला पारी सोधपुछ गर्ने क्रममा शेखले बालिकालाई ललाई फकाई गरी भारत घरमा लैजान्छु भन्दै प्रलोभनमा पारी उक्त सोही गेष्ट हाउसमा जबरजस्ती करणी गरेको खुल्न आएपश्चात उनलाई सोही गेष्ट हाउसबाट प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

