नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० कार्तिक ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । काठमाडौं, महानगरपालिका-८ गुहेश्वरीस्थित बाग्मती नदीमा हाल नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै रौतहट, गौर नगरपालिका-१ भन्सारस्थित सडक छेउको नालीमा भारत सितामढी डुमरवाना बस्ने १९ वर्षीय सुरज कुमार साह मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता सिन्धुली, घ्याङलेख गाउँपालिका-४ सुनखानी माहाभारत जंगलको खोल्सीमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै मोरङ, सुनवर्षी नगरपालिका-६ सिटौला टोल बस्ने ७३ वर्षीया जानुका देवी बस्नेत सोही ठाउँस्थित माछा पोखरीमा सोमबार मृत अवस्थामा फेला परेकी छन् । शुक्रबार घर छोडी हिँडेकी उनको खोजी गर्ने क्रममा उक्त पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो ।त्यसैगरी गुल्मी, इस्मा गाउँपालिका-५ दरिङ ढुङ्गा बस्ने ७४ वर्षीया जिवाकला थापा आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी सुर्खेत, लेकबेशी नगरपालिका-९ चौरासे तिल्केपानी बस्ने ७३ वर्षीया डिल्लीसरा जैशी आफ्नै घर नजिकै खेतमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै सुनसरी, बराहक्षेत्र नगरपालिका-२ स्थित चतरा झुम्का नहरमा हाल नाम, थर, वतन नखुलेका पुरुषको शव सडिगलेको अवस्थामा सोमबार फेला परेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

