सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । झापा, कन्काई नगरपालिका-७ दुर्गापुरस्थित सडकमा को.१ ख ६७९४ नम्बरको बसले मे.७ प ५०९२ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका-६ बस्ने ५२ वर्षीय नरेन्द्र मैनाली र मोटरसाइकलमा सवार उनकी श्रीमती ५० वर्षीया सीता देबी मैनालीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै महोत्तरी, बर्दिबास नगरपालिका-१२ अकनटोलस्थित सडकमा ना.८ ख ५३३५ नम्बरको टिपरले ज.१२ प ३००६ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक धनुषा मिथिला नगरपालिका-८ बस्ने २१ वर्षीय बिजय कुमार महतो कोइरीको मृत्यु भएको छ ।



दुर्घटनामा गम्भीर घाइते भएका उनको जनसेवा हस्पिटल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको काव्या अस्पताल जनकपुरमा उपचार भइरहेको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै नवलपरासी(पश्चिम), रामग्राम नगरपालिका-१० मंझरियास्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टरले लु.८३ प ३०८२ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक पाल्पा तिनाउ गाउँपालिका-६ घर भएका ३७ वर्षीय सर बहादुर चिदीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासी हुँदै भैरहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनालाई मेडिकल कलेज भैरहवा लगिएकोमा १ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार