नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० कार्तिक ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका दिन बिहान ४ बजेदेखि सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले ४ मंसिर आइतबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
यद्यपि, निर्वाचन आयोगबाट सवारीसाधन सञ्चालनसम्बन्धी जारी मापदण्डअनुसारका अनुमति प्राप्त सवारीसाधनलाई भने सञ्चालनमा नरोक्ने बैठकले निर्णय गरेको छ । निर्वाचन लक्षित सुरक्षा व्यवस्थाबारे छलफल गर्न बसेको उक्त बैठकले मदिरा बिक्री वितरणमा पनि रोकलगाउने निर्णय गरेको छ ।
निर्णयअनुसार १ मंसिर बिहीबारदेखि मतदानको दिन ४ मंसिर मध्यराति १२ बजेसम्म काठमाडौं उपत्यकामा मदिरा बिक्री वितरण, ओसारपसारमा रोक लगाइएको छ । साथै मतगणना आसपास मतगणना नसकिँदासम्म मदिरा बिक्री वितरण तथा ओसारपसार गर्न पाइने छैन ।

