नवकान्तिपुर संवाददाता
काठमाडौं, १ मंसिर ।

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । पर्वत, जलजला गाउँपालिका-३ भुर्तुला गैराकोपाखामा ग.१ ज ५२९६ नम्बरको जिप ब्रेक फेल भई सडकबाट करिब ३ सय मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा जिप चालक सोही गाउँपालिका-२ माझफाटँ बस्ने ३७ वर्षीय डम्बर बहादुर दमैको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल म्याग्दीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य १४ जनामध्ये ३ जनाको जिल्ला अस्पताल म्याग्दी र ५ जनाको मणिपाल अस्पताल पोखरामा उपचार भरहेको छ भने ६ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।
त्यस्तै नवलपरासी(पूर्व), हुप्सेकोट गाउँपालिका-३ गिरुबारी बजारस्थित सडकमा प्रदेश ०२-०३-००१ त ६५५ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने अर्जुन कुमालको छोरा १० वर्षीयि पिउस कुमालको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै रूपन्देही, देवदह नगरपालिका-१० चरङगे जंगलमा लु.७१ प ५७१५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किएर बुधबार राति दुर्घटना हुँदा चालक पाल्पा घर भएको २५ वर्षीय बिबेक कोईरालाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरेहको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेक छ ।

