आतङ्कवाद पाकिस्तानको सबैभन्दा जटिल समस्या : शहबाज सरिफ

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले लक्की मारवातमा प्रहरी भ्यानमा भएको आक्रमणको निन्दा गर्दै आतङ्कवाद पाकिस्तानको प्रमुख समस्याका रुपमा रहेको बताएका छन् ।

‘हामी कुनै गल्ती नगरौं । आतङ्कवाद पाकिस्तानको प्रमुख समस्यामध्ये एक हो । हाम्रो सशस्त्र बल र प्रहरीले बहादुरीका साथ यो विपत्तिसँग लडेका छन् । लक्की मारवातमा प्रहरी भ्यानमा आतङ्ककारी समूहले गरेको आक्रमणको निन्दा गर्न कुनै शब्द पर्याप्त छैन । मेरो साथ र प्रार्थना शोकसन्तप्त परिवारजनप्रति छ,’ सरिफले ट्वीटरमा लेखेका छन् ।



पाकिस्तानको खैबर पख्तुनख्वाको लक्की मारवातमा बुधबार आक्रमणमा परी छ जना प्रहरीको मृत्यु भएको पाकिस्तानको डेली टाइम्सले जनाएको छ । पत्रिकाका अनुसार मोटरसाइकलमा आएका दुई विद्रोहीले भ्यानमा गोली चलाएका थिए ।प्रहरीका अनुसार आक्रमणकारीले अब्बासा रोड, वान्डा शाहब खेलस्थित प्रहरी भ्यानमा आक्रमण गरेका थिए ।

पाकिस्तानका गृहमन्त्री राना सनौल्लाले पनि लक्की मारवातमा प्रहरीमाथि भएको आक्रमणको निन्दा गरेका छन् । उनले मुख्य सचिव र प्रहरी महानिरीक्षकसँग खैबर पख्तुनख्वा घटनाको रिपोर्ट मागेको बताएका छन् । सङ्घीय गृहमन्त्री सनौल्लाले लक्की मारवातमा प्रहरी भ्यानमा भएको आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गर्दै घटनाप्रति चिन्ता व्यक्त गदै प्रहरी कर्मचारीको शहादतप्रति गहिरो दुःख र खेद व्यक्त गरेको उनको कार्यालयले ट्वीटर सन्देशमा लेखेको छ ।

सम्बन्धित समाचार