मृत अवस्थामा ८ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । पर्वत, पैयु गाउँपालिका-६ सरौखोला बस्ने ६४ वर्षीय कमान सिंह थापा सोही ठाउँस्थित खरबारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । उक्त खरबारीमा गोरु चराउन गएकोमा साँझसम्म घरमा नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

त्यस्तै इलाम, फाकफोकथुम गाउँपालिका-२ धार्नेखोप बस्ने ६१ वर्षीय दिल बहादुर तामाङ आफ्नै घरबाट करिब १ सय ५० मिटर टाढा बिहीबार मृत अवस्थामा फेला परेका छन् । गाई बस्तुलाई घाँस काट्न जान्छु भनि बुधबार दिउँसो घरबाट हिँडेका उनी घर नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।



यस्तै खोटाङ, बराहपोखरी गाउँपालिका-५ पौवसेरा मलखु बस्ने ६० वर्षीय राज कुमार राई आफ्नै घरबाट करिब २ सय मिटर टाढा खरबारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । घास काट्न भनि घरबाट हिँडेका उनी घर नआएपछि खोजी गर्ने क्रममा खरबारीको भिरबाट लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।

त्यसैगरी सिन्धुली, फिक्कल गाउँपालिका-६ कल्लेरी दोभानस्थित सुनकोशी नदीको किनारमा ओखलढुगा सिसंकुगढि गाउँपालिका-४ बस्न २७ वर्षीया कमाला भण्डारी बिहीबार मृत अवस्थामा फेला परेकी छन् । यता बागलुङ , बागलुङ नगरपालिका-४ पाखाथर डेरा गरी बस्ने मनिषा घर्ती श्रेष्ठको घरमा आएका उनकै भाइ बडिगाड गाउँपालिका-१० दर्लिङ बस्ने खेम बहादुर घर्ती बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी मोरङ, मिक्लाजुङ्ग गाउँपालिका-१ चारघरे बस्ने ५६ वर्षीय मान विर राई सोही ठाउँस्थित लेख डाँडाको खोल्सीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै गोरखा, गोरखा नगरपालिका-५ मानेपानीस्थित पानी खोल्सामा सोही नगरपालिका पदेलथोक बस्ने ४५ वर्षीय मंगल सार्की बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यता प्युठान, स्वर्गद्धारी नगरपालिका-६ डाडाखर्क बस्ने ६३ वर्षीया धनि कुमारी सुनार आफ्नै घर नजिक बारीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार