एलपी पौड्याल
काठमाडौं, ५ मंसिर ।
संघीय संसद र प्रदेशसभा सदस्यहरूका लागि भएको निर्वाचन सम्पन्न भएको छ । देशका केही स्थानहरूमा छिटफुट अप्रिय घटना घटेका समाचारहरू आए पनि समग्रमा निर्वाचन शान्तिपूर्ण नै सम्पन्न भएको मान्नुपर्छ । मुलुकभरिमा लगभग ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमान छ । कतिपय स्थानहरूमा रातीदेखि नै मतगणना आरम्भ भइसके पनि धेरै स्थानमा तपाई हामीले दिएको अमूल्य मतहरू मतपेटिकामा नै कैद रहेका अवस्था छ । मतगणना सम्पन्न नहुञ्जेल फटाहाहरूले आफू पराजित हुने भयले मतपेटिका लुट्ने, साट्ने वा आगजनी गर्ने वा यस्तै केही अवाञ्छित कार्यहरू गर्न सक्छन् । त्यसैले पनि अब मतदाताहरूको नजर आफूले दिएको अमूल्य मतको सुरक्षार्थ चनाखो हुनुपर्ने देखिन्छ ।
लोकतन्त्रले नागरिकलाई मतका माध्यमबाट आफ्ना प्रतिनिधिहरू छान्ने सुनौलो अवसर प्रदान गरेको हुन्छ । मतदान कार्यमा सहभागी हुन पाउनु उमेर पुगेका हरेक नागरिकको नैसर्गिक अधिकार हो । यस सर्वोच्च अधिकारको प्रयोग गर्दै बालिग मतदाताहरूले आउँदो पाँच वर्षका लागि प्रतिनिधिसभा र प्रदेशसभाका लागि आफ्ना प्रतिनिधि छानिसकेका छन् । मतदाताहरूले कति विवेक पुर्याउन सके वा सकेनन् भन्ने कुरा जान्न केही दिनसम्म कुर्नु पर्ने हुनसक्छ ।
अधिकांश स्थानको परिणाम् मतपेटिकामा सुरक्षित छ । मतगणना गरेर परिणाम् सार्वजनिक नहुञ्जेल मतपेटिकालाई सुरक्षित रूपमा राख्नु निर्वाचन आयोगको दायित्व हो । तर पराजित मानसिकता भएकाहरूले आयोगका आँखा छलेर मतपेटिका साटफेट गर्ने, लुटेर लैजाने, प्रोक्सी मत खसाउनेजस्ता कार्य गर्न सक्छन् । अतः आफ्नो अभिमत जस्ताको तस्तै प्रकाशित होस् र आफूले मत दिएको योग्य उम्मेदवार मात्र संसदमा छिर्न पाउन् भन्नका लागि आयोग र सुरक्षाकर्मी मात्र होइन, मतदाताहरू पनि चनाखो बनिरहनुपर्ने देखिन्छ ।
यस पटकको चुनावमा नयाँ तथा युवा उम्मेदवारहरूप्रति आम जनताको आकर्षण बढेको आभास पाइएको छ । विशेष गरी युवा मतदाताहरूको रोजाइमा युवा उम्मेदवारहरू नै परेका छन् यद्दपि समग्र परिणाम्मा के हुन्छ, त्यो अहिले नै अनुमान लगाउनु हतार हुनसक्छ । तर मतदाताहरूको यस मनोविज्ञानबाट त्रसित पुराना अनुहारहरू आफ्नो पद र प्रतिष्ठाको दुरुपयोग गर्दै मत परिणामलाई आफ्नो पक्षमा पार्न अनेक चलखेल गर्न सक्छन् । मौन अवधि (स्थिर समय) मा मतदाता प्रभावित पार्न भ्रष्टाचार गरी कुम्ल्याएको पैसा बाँडेको समाचारले सामाजिक सञ्जाल भरिएका छन् । भ्रष्टाचारै नगरेको भए पनि यस्तो कार्यमा संलग्न जो कोही भए पनि यो निर्वाचन आचारसंहिताविपरीत निन्दनीय कार्य होे ।
सत्यतथ्यको जाँच त निर्वाचन आयोगले गर्ला नै तर चलखेल हुनसक्छ भन्ने यो एउटा घृणित उदाहरण हो । मुलुकका विभिन्न भागमा रहेका निर्वाचन केन्द्रमा मतपेटिका साट्न खोजेको, फर्जी मतपत्र भेटिएको, हुलहुज्जत गरेकोजस्ता कयौं घटना बाहिरिएका छन् । त्यसैले पनि मतदाताका चनाखा आँखाहरूले निरन्तर निगरानी नगर्ने हो भने परिवर्तनकामी जनताको भावनाविपरीत मत परिणाम् नआउला भन्न सकिन्न ।