नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ मंसिर ।
कतारमा जारी फिफा विश्वकप फुटबलमा मोरक्को र क्रोएसियाले बराबरी खेल्दा जापान, स्पेन र बेल्जियम विजयी भएका छन् । बुधबार राति भएको खेलमा जर्मनी भने पराजित भएको छ ।
गए राति भएको खेलमा मोरक्को र क्रोएसियाले बराबरी खेल्दा जर्मनी जापानसँग २-१ ले, स्पेनले कोस्टारिकालाई ७-० ले र बेल्जियमले क्यानडालाई १-० ले पराजित गरेको हो । कतारको अल बायत स्टेडियममा भएको पहिलो खेलमा मोरक्को र क्रोएसियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
निकै प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोलका केही सुन्दर अवसर खेर फाल्दा अंक बाँडेका हुन् । बराबरीसँगै समूह ‘एफ’ मा रहेको क्रोएसिया र मोरक्कोले समान १-१ अंक जोड्दै क्रमश: दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
त्यस्तै कतारमा जारी फिफा विश्वकप फुटबलमा जर्मनीमाथि जापानले २-१ को सानदार जित निकालेको छ । बुधबार कतारको खालिफा अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा दोस्रो खेलमा जापानले जापानले जर्मनीलाई पहिलो पटक पराजित गरेको हो । यद्यपि खेलको ३३ औं मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीबाट गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । जापानी गोलकिपर शुइची गोन्डाले जर्मनीका डिफेन्डर डेभिडलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि जर्मनीले पेनाल्टी पाएको थियो । जसमा जर्मनीका गुन्डोगानले गोल गरे ।
पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा जापानले उत्कृष्ट पुनरागमन गर्दै २ गोल गरेको थियो । खेलको ७५ औं मिनेटमा सब्सिच्युडको रुपमा मैदान प्रवेश गरेका जापानका रित्सु डोनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि खेलको ८३ औं मिनेटमा अर्का सब्सिच्युड खेलाडी ताकुमा असानोले गोल गर्दै जापानलाई २-१ को जित दिलाए ।
यसअघि पहिलो हाफको इन्जुरी समयमा जर्मनीका काइ हार्भट्जले गोल गरेका थिए । तर, भीएआरले उनको गोललाई अफसाइड देखाएको थियो । जितसँगै समूह ‘ई’ को जापान ३ अंक सहित दोस्रो स्थानमा छ भने हारबाट विश्वकपको सुरुवात गरेको जर्मनी तेस्रो स्थनमा रहेको छ । त्यसैगरी कतारमा जारी फिफा विश्वकप फुटबलमा बुधबार राति भएको तेस्रो खेलमा स्पेनले कोस्टारिकालाई ७-० ले पराजित गर्दै सानदार सुरुवात गरेको छ ।
कतारको अल थुमामा स्टेडियममा भएको एकतर्फी खेलमा स्पेनलाई सानदार जित दिलाउन फेरान टोरेसले दुई गोल गर्दा डानी ओल्मो, मार्को एसेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोरटाको भागमा समान १-१ गोल रह्यो ।
खेलको ११ औं मिनेटमा ओल्मोको गोलबाट स्पेनले अग्रता बनाएको थियो । त्यस्तै खेलको २१ औं मिनेटमा एसेन्सियोले गोल गर्दा स्पेनको अग्रता दोब्बर बनाए । यस्तै खेलको ३१ औं मिनेटमा फेरान टोरेसले पेनाल्टीबाट गोल गरेपछि स्पेन पहिलो हाफमा ३-० ले अघि रह्यो । खेलको ५४ औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ४-० को अग्रता दिलाए । यसैगरी खेलको ७५ औं मिनेटमा गाभीको गोल मार्फत स्पेन ५-० ले अघि रह्यो । खेलको ९० औं मिनेटमा सोलेरले गोल गर्दै स्पेनलाई ६-० को अग्रता दिलाए । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा मोरटाले गोल गर्दै स्पेनलाई ७-० गोलको फराकिलो जित दिलाए ।
जितसँगै समूह ‘ई’ को स्पेन ३ अंक जोड्दै शीर्ष स्थनमा छ भने विश्वकप कोस्टारिकाले हारबाट सुरुवात गर्दै पुछारमा राहेको छ । यसैगरी कतारमा जारी फिफा विश्वकप फुटबलमा बेल्जियमले क्यानडालाई १-० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । कतारको अहमद बिन अलि स्टेडियममा बुधबार राति भएको चौथों खेलमा बेल्जियमलाई जित दिलाउन मिसी बात्सुयीले निर्णायक गोल गरे ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको खेलको ४४ औं मिनेटमा मिसी बात्सुयीको गोल नै बेल्जियमलाई जित दिलाउन पर्याप्त रह्यो । उनले एल्डरवेइरेल्डको पासमा गोल गरेका हुन् । त्यसअघि क्यानडा पेनाल्टीमा गोल गर्न नसक्दा पहिलो खेलमा हार चाख्न बाध्य भयो । बेल्जियमका गोलकिपर कोर्टुवाले खेलको ११ औं मिनेटमा क्यानडाका अल्फन्सो डाभिसको पेनाल्टी बचाएका थिए । जितसँगै समूह ‘एफ’ को बेल्जियम ३ अंक जोड्दै शीर्ष स्थानमा छ भने हारबाट प्रतियोगिताको सुरुआत गरेको क्यानडा पुछारमा रहेको छ ।
आज ४ खेल हुँदै
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेलहरु हुँदैछन् । बिहीबार समूह ‘जी’ र समूह ‘एच’ का समान २-२ खेलहरु हुनेछन् । पहिलो खेलमा समूह ‘जी’ मा रहेको स्विजरल्याण्ड र क्यामरुनबीच नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ भने दोस्रो खेलमा समूह ‘एच’ को उरुग्वे र दक्षिण कोरियाचको खेल साँझ ६:४५ बजे, तेस्रो खेलमा समूह ‘एच’ कोपोर्चुगल र घानाबीचको खेल राति ९:४५ बजे र चौंथो खेलमा समूह ‘जी’ मा रहेको ब्राजिल र सर्बियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।