नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ मंसिर ।
कतारमा जारी फिफा विश्वकप फुटबलमा स्विट्जरल्यान्ड, पोर्चुगल र ब्राजिल विजयी हुँदा उरुग्वे र दक्षिण कोरियाले बराबरी खेलेका छन् । बिहीबार राति भएको खेलमा स्विट्जरल्यान्डले क्यामरुनलाई १-० ले, पोर्चुगलले घानालाई ३-२ ले र ब्राजिलले सर्बियालाई २-० ले पारजित गर्दा उरुग्वे र दक्षिण कोरियाले भने गोलरहित बराबरी खेलेका हुन् ।
कतारको अल जानुब स्टेडियममा बिहीबार भएको पहिलो खेलमा स्विट्जरल्यान्डले क्यामरुनलाई १-० गोलले पराजित गर्दै विश्वकपमा विजयी सुरुवात गरेको हो । स्विट्जरल्यान्डको जितमा ब्रिल एम्बोलोले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा खेलको ४८ औं मिनेटमा एम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । उनले साकिरीको पासमा गोल गरेका हुन् ।
जितसँगै समूह ‘जी’ मा रहेको स्विट्जरल्यान्ड ३ अंक जोड्दै दोस्रो स्थानमा छ भने क्यामरुनले हारबाट विश्वकपको सुरुवात गर्दै तेस्रो स्थानमा रहेको छ। त्यस्तै कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत बिहीबार राति भएको दोस्रो खेलमा उरुग्वे र दक्षिण कोरियाले बराबरी खेल्दै अंक बाँडेका छन् ।
कतारको एजुकेसन सिटी स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । दुबै टोलीले गोल गर्ने सुन्दर अवसरलाई खेर फाल्दा खेल गोलरहित बराबरीमा सकिएको हो । यद्यपि उरुग्वेको दुई उत्कृष्ट प्रहार भने पोस्टमा लाग्दै बाहिरिएको थियो । बराबरीसँगै समूह ‘एच’ को उरुग्वे र दक्षिण कोरियालेले पहिलो खेलमा समान १-१ अंक जोड्दै क्रमश: दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
त्यसैगरी कतार विश्वकप फुटबल अन्तर्गत बिहीबार राति भएको तेस्रो खेलमा पोर्चुगलले घानालाई ३-२ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । कतारको स्टेडियम ९७४ मा कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ६५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । उक्त गोलसँगै रोनाल्डोले लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए । रोनाल्डोले यस अघि २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा गोल गरेका थिए ।
त्यस्तै खेलको ७३ औं मिनेटमा घानाका आन्द्रे एयुले गोल गर्दै खेललाई बराबरीमा ल्याए । तर, खेलको ७८ औं मिनेटमा पोर्चुगलका जोआ फेलिक्सले गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए । यस्तै खेलको ८० औं मिनेटमा राफायल लियोले गोल मार्फत पोर्चुगल ३-१ ले अघि रह्यो ।
त्यसपछि खेलको ८९ औं मिनेटमा घानामा ओस्मान बुकारीले गोल गरेपनि त्यो ढिलो भइसकेको थियो र खेल पोर्चुगलले ३-२ ले आफ्नो पक्षमा पार्यो । जितसँगै समूह ‘एच’ को पोर्चुगल ३ अंक जोड्दै शीर्ष स्थानमा छ भने घानाले भने हारबाट विश्वकपको सुरुवात गर्दै पुछारमा रहेको छ ।
त्यसैगरी उपाधि दाबेदार ब्राजिलले सर्बियालाई २-० गोल अन्तरले हराउँदै कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ।
कतारको लुसाइल स्टेडियममा बिहीबार राति भएको चौथों खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा ब्राजिलले उत्कृष्ट पुनरागमन गर्दै २ गोल गर्यो । ब्राजिलको जितमा दुबै गोल रिचार्लिसनले गरे । खेलको ६२ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७३ औं मिनेटमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २-० को सहज जित दिलाए । जितसँगै समूह ‘जी’ को ब्राजिलले ३ अंक जोड्दै शीर्ष स्थानमा छ । हारबाट विश्वकप सुरुवात गरेको सर्बिया पुछारमा रहेको छ ।
आज ४ खेल हुँदै
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा शुक्रबार समूह ‘ए’ र समूह ‘बी’ का समान २-२ खेलहरु हुनेछन् । पहिलो खेलमा समूह ‘बी’ मा रहेको वेल्स र इरानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे, दोस्रो खेल समूह ‘ए’ को कतार र सेनेगलबीच साँझ ६:४५ बजे, तेस्रो खेल समूह ‘ए’ का नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल राति ९:४५ बजे र चौथों खेलमा समूह ‘बी’ मा रहेको इंग्ल्यान्ड र अमेरिकाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
वेल्स र इरान पहिलो जितको खोजीमा हुनेछन् । वेल्सले पहिलो खेलमा बराबरीमा चित्त बुझाउदा इरान भने पराजित भएको थियो । त्यस्तै पहिलो खेलमा पराजित भएका कतार र सेनेगल आज पहिलो जित निकाल्ने योजना साथ मैदान उत्रदै छन् । यस्तै नेदरल्यान्ड्स, इक्वेडर र इंग्ल्यान्ड लगातार दोस्रो जित हात पार्न चाहन्छन् भने अमेरिका पहिलो जितको खोजीमा हुनेछ ।